रातभर भएकाे इजरायली आक्रमणमा परी नाै बालबालिकासहित १३ जनाकाे मृत्यु

प्रकाशित मिति: ९ बैशाख २०८१, आईतवार १६:१५


एजेन्सी, बैशाख ९ ।
दक्षिणी गाजा शहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा परी नौ जना बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आज आइतबार बताएका छन् ।

गाजाका २३ लाख जनसंख्याको आधाभन्दा धेरैले शरण मागेको रफाहमा इजराइलले दैनिक आक्रमण गरेको छ । अमेरिकासहित अन्तर्राष्ट्रियस्तरले संयमता अपनाउन आग्रह गरे तापनि इजराइलले इजिप्टको सिमानामा रहेको रफाहमा आफ्नो स्थल आक्रमण विस्तार गर्ने वाचा गरेको छ ।

कुवैती अस्पतालकाअनुसार पहिलो आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूको तीन वर्षीय बालकको मृत्यु भएको छ । अस्पतालले महिला गर्भवती रहेको र चिकित्सकहरू बच्चालाई बचाउन सफल रहेको बताएको छ ।

अस्पतालको रेकर्डअनुसार दोश्राे आक्रमणमा एउटै परिवारका आठ बालबालिका र दुई महिलाको मृत्यु भएको छ । अघिल्लो रात रफाहमा भएको हवाई आक्रमणमा छ बालबालिकासहित नौ जना मारिएका थिए ।

स्थानीय स्वास्थ्य अधिकारीहरूकाअनुसार इजराइल-हमास युद्धमा ३४ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने गाजाका दुई सबैभन्दा ठूला शहर ध्वस्त भएका छन् र सम्पूर्ण क्षेत्रमा विनाश भएको छ । करिब ८० प्रतिशत जनसंख्या आफ्नो घरबाट भागेर घेरिएको तटीय क्षेत्रका अन्य भागमा गएका छन् । विशेषज्ञहरूले ती क्षेत्र भोकमरीको सङ्घारमा रहेको बताएका छन् ।

सातौँ महिनामा चलिरहेको युद्धले क्षेत्रीय अशान्ति फैलाएको छ । यसबाट इजराइल र अमेरिका सम्पूर्ण मध्यपूर्वमा इरान र सम्बद्ध लडाकु समूहहरूविरुद्ध खडा भएका छन् । यसै महिनाको प्रारम्भमा इजराइल र इरानबीच प्रत्यक्ष गोलीबारी हुँदा लामो समयदेखिको उनीहरूको शत्रुताले युद्धको डर बढाएको छ ।

इजराइलले कब्जा गरेको वेस्ट बैंकमा पनि तनाव बढ्दै गएकाे छ । इजराइली सेनाकाअनुसार सैनिकहरूले आइतबार बिहानै दक्षिणी वेस्ट बैंक शहर हेब्रोननजिकै एक जाँच चौकीमा चक्कु र बन्दुकले आक्रमण गर्ने दुई प्यालेस्टिनीलाई ‘निष्क्रिय’ बनाएको जनाएको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार गाजामा युद्ध सुरु भएपछि वेस्ट बैंकमा इजराइली सैनिक र बसोबास गर्नेहरूबाट कम्तीमा ४ सय ६९ प्यालेस्टिनी मारिएका छन् भने अधिकांश मानिस इजराइली सैन्य गिरफ्तारी छापा मार्ने क्रममा मारिएकाे पनि जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

राताे मच्छिन्द्रनाथकाे रथ मर्मत कार्य सम्पन्न, भाेलि पुनः तानेर लगनखेल पुर्‍याउँदै

काठमाडाैं, जेठ ४ । वर्षा, अन्न र सहकालकाे देवताकाे रूपमा प्रसिद्ध ललितपुर महानगरपालिकामा.....