देशभर मनसुनी वायुको प्रभाव, थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा

काठमाडाैं, भाद्र ७ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
अहिले बिहान कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेश र वागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।
यस्तै, कोशी, मधेश, वागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र वागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति कोशी, मधेश, वागमती र सुदूरपश्चिम केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, मधेश, वागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।
प्रतिक्रिया