तिब्बतसँग उत्तरी नाका जोड्ने नेपालको पूर्वदेखि पश्चिमसम्मका सडकखण्ड निर्माण गर्न चीन तयार

काठमाडौं, श्रावण १६ ।
चीनले आफ्नो स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएका नेपालको पूर्वदेखि पश्चिमसम्मका १४ सय किलोमिटरका विभिन्न नाका खोल्न र नेपालतर्फको सडकखण्ड निर्माण गर्न तयार रहेको जनाएको छ ।
साता लामो तिब्बतयात्रापछि फर्किएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँगको छलफलमा त्यस्तो प्रस्ताव आएको जानकारी गराएका हुन् । ओलीले आइतबार पार्टीको स्थायी समिति बैठकमा भने, ‘चिनियाँ नेताले दुई देशको उत्तरतर्फका सीमानाका खोल्न र नेपालतर्फको सडक निर्माणमा पनि तयार रहेको बताएका छन् । यसका लागि नेपाल सरकारले आधिकारिक रूपमा पत्राचार गर्नुपर्ने प्रस्ताव उनीहरूको छ ।’
चिनियाँ पक्षले रसुवाको रसुवागढी, ताप्लेजुङको ओलाचुङ्गोला, संखुवासभाको किमाथांका, सिन्धुपाल्चोकको तातोपानी, दोलखाको लामाबगर, हुम्लाको यारी, गोरखाको लार्के, मुस्ताङको कोरला, मुगुको हिल्सा नाका खोल्न ओलीसमक्ष प्रस्ताव राखेका छन् । ती नाका खोल्न नेपालतर्फको सडक निर्माणमा तयार रहेको जानकारी चिनियाँ पक्षले दिएको ओलीले स्थायी समितिमा बताएका थिए । चिनियाँ पक्षले तातोपानीको भूकम्पले चर्काएका पहाडको भौगोलिक र भूगर्भिक सर्वेक्षण गरिरहेको र चाँडोभन्दा चाँडो नाका सञ्चालनको पहल गर्ने जानकारी दिएको ओलीले बताए ।
साउन २२ गते ल्हासा प्रस्थान गरेका ओलीलाई त्यहाँको सरकारले राजकीय सम्मान दिँदै चिनियाँ पक्षले उनी प्रधानमन्त्री हुँदा भएका १० वटा सम्झौता र १५ बुँदे संयुक्त वक्तव्यलाई अगाडि बढाउने कार्य अघि नबढेकोमा गुनासो गरेको थियो ।
एमाले सचिवालय सचिव कृष्णगोपाल श्रेष्ठले चिनियाँ पक्षले ती सहमति र सम्झौता कार्यान्वयनबाट बढीभन्दा बढी लाभ लिन आग्रह गरेको जानकारी ओलीले दिएको बताए । उनले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘रेल्वे मार्ग, सडक निर्माणमा ठूलो चासो दिनुभयो । त्यसबाट चीनलाई भन्दा नेपाललाई नै बढी लाभ हुन्छ । नेपाल सरकारले यस्ता कुरामा चासो दिनुपर्यो ।’
आफूले चिनियाँ पक्षलाई यसबारे अघि बढ्न सरकारलाई घच्घच्याउने बचन दिएको ओलीले बताए ।
प्रतिक्रिया