उपत्यकाको ट्राफिक समस्या समाधान गर्न फुटपाट पसल हटाउने तयारी

काठमाडौं, श्रावण १६ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको सवारी चाप कम गर्न ‘पार्किङ महल’को खाँचो रहेको बताएका छन् ।
उनकाअनुसार ठूला सवारीसाधनलाई प्रोत्साहन गर्ने महानगरपालिकाको नीति हो, अब महानगरपालिकाले फुटपाथ हटाउने, आकाशे पुल निर्माण गर्ने कामलाई उच्च प्राथमिकता दिने बताएका छन् ।
काठमाडौं उपत्यकाको ट्राफिक समस्या समाधान गर्न उपभोक्ता हित संरक्षण मञ्चको आयोजनामा आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा भएको छलफलमा वक्ताहरूले दिनदिनै चुनौतीपूर्ण बन्दै गएको उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक व्यवस्थापनसम्बन्धी जनचेतनालाई अभियानकै रूपमा लैजानुपर्ने सुझाव दिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल उपत्यकाको ट्राफिक समस्या समाधानका लागि सबैको साथ सहयोग आवश्यक रहेको बताए ।
प्रमुख खनालले उपत्यकाका अधिकांश सडक खाल्टा हुँदै गएको भन्दै चाँडो खाल्टा पुर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरे ।
सडक विभागका क्षेत्रीय निर्देशक शिवहरि सापकोटाले मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा उपत्यकाका धेरै सडकको संरचना खल्बलिएको हुँदा यसलाई चाँडो निर्माण गर्ने आफ्नो प्रमुख प्राथमिकता रहेको बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पूर्वाधार विकास नभएसम्म उपत्यकाको ट्राफिक समस्या समाधान नहुने बताउनुभयो । उनले ६० हजार मालबाहक सवारीसाधनका लागि छुट्टै बसपार्क आवश्यक रहेको स्पष्ट पारेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपत्यकाको ट्राफिक समस्या समाधानका लागि सबै पक्ष एकजुट हुुनुपर्ने बताए ।
प्रतिक्रिया