भरतपुर १९ मा पुनः मतदान गराउन यथाशीघ्र मिति, स्थान र समय तोक्न आयोगको आदेश

काठमाडौं, श्रावण १७ ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नंं १९ का सबै मतदान केन्द्रमा यथाशीघ्र पुनः मतदान गराउने मिति तोक्न चितवनका मुख्य निर्वाचन अधिकृतलार्ई निर्देशन दिएको छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मतपत्र च्यातिएपछि सर्वाेच्च अदालतमा तत्काल मतगणना अघि बढाउन आदेश जारी गर्न माग गर्दै परेको रिट निवेदन अदालतले आइतबार खारेज गरी पुनः मतदान गराउने फैसला सुनाएको थियो ।
त्यहीअनुरूप आयोगद्वारा सोमबार बसेको बैठकले उक्त वडाको मतदान हुने स्थान, मिति र समय तोक्न महानगरपालिका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
आयोगले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन र मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिका प्राप्त भएपछि मतगणना गर्ने व्यवस्था मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको जनाएको छ ।
प्रतिक्रिया