जिम्मेवारी पूरा नगर्नेलाई उन्मुक्ति दिइँदैन : मन्त्री साह

भक्तपुर, श्रावण १९ ।
शहरी विकासमन्त्री प्रभु साहले आव २०७४/७५ का लागि लक्षित कार्यक्रम र विनियोजित रकम समयमै खर्च हुनेगरी काम थाल्न मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् ।
भक्तपुरको नगरकोटमा बुधबारदेखि सुरु भएको शहरी विकास तथा भवन निर्माण विभागको आव २०७३/७४ वार्षिक प्रगति समीक्षा तथा आव २०७४/७५ को कार्यक्रम कार्यान्वयन तयारीसम्बन्धी गोष्ठीमा उनले गत आवको जस्तो निर्धारित योजना पूरा नगर्ने तथा बजेट खर्च नगर्नेलाई यसपटक उन्मुक्ति नदिइने चेतावनी दिए । तोकिएकै समयमा काम सम्पन्न हुन नसकेको कारण खोज्न र गलत काम गर्नेे ठेकेदारलाई कारबाही गर्नुपर्ने उनको भनाई छ ।
मन्त्री साहले मन्त्रालयहरूको पुनःसंरचना गर्दा यो मन्त्रालय रहन्छ की रहन्न भन्ने दुविधा नपाल्न पनि कर्मचारीलाई आग्रह गरे । आफूले पारदर्शीतालाई जोड दिने उल्लेख गर्दै मन्त्री साहले सबै आयोजना र निकायको प्रगति विवरण मन्त्रालयको वेबसाइटमा नियमित राख्ने व्यवस्था गरिने जानकारी दिए ।
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आगामी आवमा पूँजीगत खर्च कम्तीमा ९० प्रतिशत पुर्याउने गरी काम गर्न कर्मचारीलाई आग्रह गरे ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरी शर्माले विभागको अधिकांश काम अरू सरकारी निकायसँग समन्वय गर्नुपर्ने भएकाले समन्वय गर्न आफैँ अग्रसर हुन विभागका कर्मचारीलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया