भरतपुरमा पुनः मतदानको तयारी तीब्र, मतदानस्थल आसपास निषेधित क्षेत्र

चितवन, श्रावण १९ ।
चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्न सर्वोच्च अदालतले आदेश जारी गरेपछि त्यहाँको मतदानका लागि आवश्यक कर्मचारी खटाएर तयारी तीब्र पारिएको छ ।
भोलि श्रावण २० गते हुने पुनः मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिएका छन् । उनकाअनुसार वर्षाले प्रभावित हुनसक्ने भएकाले मतदानस्थलमा पानी नपस्ने टेण्टको समेत व्यवस्था गरिएको छ ।
मतदानस्थलको १०० मिटर आसपास निषेधित क्षेत्र घोषणा गरेर कर्मचारीले आवश्यक तयारी गरिरहेको घिमिरेले जानकारी दिए । निर्वाचनका लागि बुधबारदेखि नै मौनअवधी सुरु भएको चितवनका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उनकाअनुसार आज हरेक मतदानस्थलमा मतपत्र पुर्याइने भएको छ ।
भरतपुर–१९ मा तीन वटा मतदानस्थलमा छ वटा मतदान केन्द्र रहेको छ । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार दुई सय ४८, जीवनज्योति स्कूल गुञ्जनगरमा एक हजार तीन सय छ र शारदानगर माविमा एक हजार दुई सय ४३ गरी कूल तीन हजार सात सय ९७ मतदाता रहेका छन् ।
गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि भोलि निर्वाचन हुन लागेको हो । ठूलो वर्षा भएकाले यसैबेला यहाँका मतदातालाई रोपाइँको चटारो समेत परेको छ ।
प्रतिक्रिया