आसन्न प्रदेश नं. २ को निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ : महासचिव पोखरेल

धनुषा, श्रावण २२ ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रदेश नं. २ कोे आसन्न स्थानीय तह निर्वाचनमा पनि आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।
एमाले धनुषाद्वारा जनकपुरमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेको नीति र सिद्धान्तलाई रुचाएरै नेपाली जनताले स्थानीय तहको दुबै चरणको निर्वाचनमा पहिलो पार्टी बनाएको दाबी गरे ।
एमाले संविधान संशोधनको पक्षमा रहेको बताउँदै उनले हाल व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावको विषयवस्तु स्पष्ट नभएका कारण एमाले विपक्षमा रहेको स्पष्ट पार्दै हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन षड्यन्त्र चलिरहेको भन्दै उनले नेपालमा बोलिने नेपाली भाषाबाहेक अन्य जुनसुकै दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन संविधान मै व्यवस्था गरिएको प्रष्टसमेत पारेका छन् ।
महासचिव पोखरेलले मधेशमा आन्दोलनको बेला पेट्रोल छर्किने र काठमाडौंबाट गोली चलाउन आदेश दिने काम गरेर कांग्रेसले दोहोरो चरित्र प्रदर्शन गर्दै आएको आरोप लगाए ।
कार्यक्रममा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले कांग्रेसको षड्यन्त्रमा राजपा दिनानुदिन फस्दै गएको बताउँदै उनले भने, “राजपा सत्तापक्ष हो की प्रतिपक्ष ? प्रतिपक्ष हो भने एमाले पनि प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेकाले एमालेलाई दोष लगाउनुभन्दा एमालेसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।”
उनले एमाले नेतृत्वको सरकारको पालामा तराई मधेशमा विकासले गति लिएकाले तराई मधेशका जनताले एमालेलाई रोज्ने दाबी पनि गरेका छन् ।
प्रतिक्रिया