भरतपुरको मेयरमा विजयी दाहालले गरिन् यस्तो प्रतिबद्धता

चितवन, श्रावण २२ ।
भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी हुन सफल नवनिर्वाचित रेणु दाहालले आफ्नो पहिलो प्राथमिकता भनेको महिलाको हक अधिकार स्थापित गर्ने रहेको बताएकी छन् ।
उनले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिएकी हुन् । पहिलो काम नै महिलाको अधिकार सुरक्षित गर्ने रहेको उनको भनाई थियो ।
गएराति करिब साढे १० बजे विजयी भएकी उनले संक्षिप्त प्रतिक्रिया दिँदै देशकै केन्द्र भागमा रहेको भरतपुर महानगरपालिकालाई एउटा व्यवस्थित शहरका रूपमा विकास गर्ने बताएकी छन् । उनले विगतमा गरेको प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्ने बताइन् ।
‘देशकै केन्द्र भागमा महानगर भएकाले समृद्ध र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु’ दाहालले भनिन्, ‘पहिलो, दोश्रो र तेश्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु ।’
यस्तै नवनिर्वाचित उपप्रमुख पार्वती शाहले विगतमा बनाएको घोषणापत्र र गुरुयोजना बनाइसकेकाले सोहीअनुसार अघि बढ्ने बताइन् ।
प्रमुख र उपप्रमुख महिला नै भएकाले पनि महिलाका विषयमा गम्भीर भएर अघि बढ्ने उनको भनाई थियो । उनले सबै पक्षलाई मिलाएर विकास र नगरको समृद्धिमा लाग्ने प्रतिबद्धता जनाइन् ।
भरतपुर महानगरको प्रमुखमा नेकपा (एमाले)का देवी ज्ञवालीलाई दुई सय तीन मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)की रेणु दाहाल विजयी भएकी थिइन् । उनले ४३ हजार एक सय २७ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार नौ सय २४ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा कांग्रेसकी पार्वती शाहले ४७ हजार एक सय ९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटमत प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यले ३९ हजार पाँच सय २५ मत प्राप्त गरेकी छन् । निर्वाचित भएपछि राति नै सामान्य विजयी जुलुस निकालिएकामा आज पनि भरतपुरमा भव्य विजयी जुलुस निकाल्ने तयारी रहेको छ ।
भरतपुरमा माओवादी केन्द्र र कांग्रेसले प्रमुख र उपप्रमुखमा तालमेल गरेको थियो । गएको जेठ १४ गते मतपत्र च्यातिएपछि विवादित बनेको निर्वाचन अघिल्लो शनिबार सर्वोच्चको फैसलासँगै भरतपुर–१९ मा पुनः मतदान गरिएको थियो ।
प्रतिक्रिया