आज गाईजात्रा, राजधानीलगायत देशभर मनाइँदै

प्रकाशित मिति: २४ श्रावण २०७४, मंगलवार ०८:५८


काठमाडौं, श्रावण २४ ।
आज गाइजात्रा पर्व । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने गाइजात्रालाई ऐतिहासिक एवं साँस्कृतिक पर्वका रूपमा लिइन्छ । यो पर्व काठमाडौं उपत्यकाको तीन वटै शहरका साथै मुलुकका मुख्य–मुख्य शहरमा मनाउने गरिन्छ ।

एक वर्षसम्म दिवङ्गत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिँगारेर आ–आफ्नो क्षेत्र वरीपरी घुमाएर यो पर्व मनाउने गरिन्छ । गाईलाई घुमाउने क्रममा श्रद्धालु भक्तजनले दूध, फलफूल, रोटी, दही, चिउराका साथै अन्य परिकार पनि खुवाई सम्मान प्रकट गर्छन् । राजा प्रताप मल्लले आफ्ना छोराको सानै उमेरमा निधन भएपछि शोकाकुल रानीलाई यस्तो पीडा भोग्नेहरू धेरै छन् भन्ने देखाउने एक वर्षभित्र दिवङ्गत सबैको सम्झनामा गाइजात्रा निकाल्ने चलन सुरु गरेको उल्लेख छ ।

प्रताप मल्लले आ–आफ्ना मरेका व्यक्तिका नाममा गाइजात्रा निकाली शहर परिक्रमा गराउनु भन्ने आज्ञा दिएकाले अहिलेसम्म गाइजात्रा पर्व चलेको विश्वास गरिन्छ । गाइजात्राबाट पनि रानी शोक मुक्त हुन नसकेपछि हास्यव्यङ्ग्यात्मक कार्यक्रम पनि सुरु गरेको विश्वास छ । त्यसैअनुसार नेपाली कलाकारले विभिन्न प्रकारका व्यङ्ग्यात्मक कार्यक्रम गर्ने गरेका छन् ।

मल्लकी रानीलाई देखाउन त्यतिबेला राजदरबार रहेको हनुमानढोका अगाडिबाट जात्रा सुरु गरिएकोले काठमाडौंका मानिसहरूले गाइजात्रा अहिले पनि हनुमानढोका दरबार अगाडिबाटै लैजाने चलन कायमै रहेको छ । गाइजात्राकै अवसर पारेर पाटनमा भने सत्ययुगदेखि सङ्कलन गरिएको विश्वास गरिने धान र चामल सार्वजनिक प्रदर्शनमा राख्ने गरिन्छ ।

गाइजात्रा पर्व काठमाडौं उपत्यकाका विभिन्न स्थानका अतिरिक्त काभ्रेको बनेपा, धुलिखेल र पनौती, सिन्धुपाल्चोकको बाह्रबिसे, नुवाकोटको त्रिशुलीबजार, पाल्पा, दोलखा, खोटाड., रामेछाप, भोजपुर, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायतका ठाउँमा पनि मनाउने गरिन्छ । गाइजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....