प्रदेश नं. २ को उम्मेदवार आउँदो २९ भित्र टुङ्गो लगाउन निर्देशन

काठमाडौं, श्रावण २५ ।
नेपाली कांग्रेसले तेश्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुने स्थानीय तहको निर्वाचनका लागि श्रावण २९ गतेभित्र उम्मेदवारको टुङ्गो लगाई केन्द्रमा पठाउन जिल्ला पार्टी निकायलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले प्रदेश नं. २ मा आगामी असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तय गरिसक्न पार्टीका स्थानीय संयन्त्रलाई निर्देशन दिएको हो ।
कांग्रेसले यसअघिको पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसारको परिपत्रबमोजिम प्रक्रिया पूरा गरी टुङ्गो लगाएर श्रावण २९ गतेभित्र उम्मेदवारको नामावली केन्द्रमा पठाउन प्रदेश नं. २ का आठ वटै जिल्ला पार्टी निकायलाई निर्देशन दिएको पार्टी कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा तेश्रो चरणअन्तर्गत प्रदेश नं. २ मा हुने स्थानीय तह निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुका सन्दर्भमा छलफल भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले विद्यालयमा कार्यरत अस्थायी शिक्षकलाई स्थायी गर्नका लागि शिक्षा सेवा आयोगले लिने परीक्षामा सामेल हुन पाउने र आयोगको परिणामपछि पनि गोल्डेन ह्याण्डसेक पाउने व्यवस्था कायम गर्न सरकारसँग माग गरेको छ ।
यसबाट लामो समयदेखि अस्थायी रूपमा कार्यरत शिक्षकलाई स्थायी हुने अवसरका साथै मागबमोजिम शिक्षकलाई गोल्डेन ह्याण्डसेकबाट न्याय प्राप्त हुने कांग्रेसको विश्वास छ ।
प्रतिक्रिया