माओवादी केन्द्रद्वारा केन्द्रीय समिति भाद्रभित्र विघटन गर्ने तयारी

काठमाडौं, श्रावण २५ ।
नेकपा (माओवादी केन्द्र)ले चार हजारको संख्यामा रहेको पार्टी केन्द्रीय समिति भाद्रभित्र विघटन गर्ने तयारी थालेको छ । जसअनुसार प्रदेश नम्बर २, ३ र ४ अन्तर्गतको केन्द्रीय सदस्यहरूको छुट्टाछुट्टै बैठक राखेर सिङ्गो केन्द्रीय समिति नै विघटन गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।
मंगलबार मात्र माओवादी केन्द्रले केन्द्रीय नेताहरूलाई एक तह घटुवा गर्दै केन्द्रीय समिति भङ्ग गर्ने प्रस्तावलाई प्रदेश नम्बर ३ बाट अनुमोदन गराएको छ । तीन हजार नौ सय ९९ जना सदस्य रहेको भद्दा केन्द्रीय समितिले पार्टी जीवनलाई धरापमा पारेको भन्दै माओवादी केन्द्रले आफ्नो केन्द्रीय समिति भङ्ग गर्ने प्रस्तावलाई सात वटै प्रदेशबाट अनुमोदन गराउँदै छ । यसअन्तर्गत मंगलबार प्रदेश नम्बर ३ अन्तर्गतको केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव अनुमोदन भएको हो ।
पार्टी हेडक्वार्टर सदस्य मणि थापाकाअनुसार माओवादीले प्रदेश नम्बर ५ अन्तर्गतको केन्द्रीय समितिलाई बुधबार, प्रदेश नम्बर ७ अन्तर्गतको केन्द्रीय समिति १० भाद्रमा, प्रदेश नम्बर ६ अन्तर्गतको केन्द्रीय समिति ८ भाद्रमा र प्रदेश नम्बर १ अन्तर्गतको केन्द्रीय समिति १२ भाद्रमा विघटन गर्ने प्रस्ताव अनुमोदन गराउँदै छ । त्यस्तो अनुमोदनका आधारमा पार्टी हेडक्वार्टरले पार्टीको सिङ्गो केन्द्रीय समिति खारेज गर्ने तयारी गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन् ।
यस्तै पार्टीले प्रदेश नम्बर २ र प्रदेश नम्बर ४ अन्तर्गतको केन्द्रीय समिति पनि भङ्ग गर्ने प्रस्तावलाई अनुमोदन गराइसकेको छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया