प्रम देउवा भाद्र ७ गते भारतको राजकीय भ्रमणमा जाने तयारी

काठमाडौं, श्रावण २५ ।
प्रधानमन्त्री शेरबहादुर देउवा यहीँ भाद्र ७ गते भारतको राजकीय भ्रमणमा जाने तय भएको छ । तर, त्यसपूर्व भारत र चीनबाट नेपालको उच्चस्तरीय भ्रमण हुँदै छ ।
चीनबाट उपप्रधानमन्त्री वाङ याङ आगामी ३० श्रावणमा आउँदै छन् । त्यसको चार दिनअघि नै बिहीबार (२६ श्रावणमा) भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै छिन् । याङ औपचारिक भ्रमणमा र स्वराज बिमस्टेकको बैठकमा सहभागी हुन आउने तय भएको छ ।
‘प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा तयार हुँदै छन्, उनले यसअघि प्रधानमन्त्रीका रूपमा तीन पटक भ्रमण गर्दा भएका सम्झौता कार्यान्वयनमा जोड दिने गरी समीक्षा गरिरहेका छौं,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले बताए । देउवाले प्रधानमन्त्रीका रूपमा पहिलो पटक २८ माघदेखि ५ फागुण ०५२ मा, दोश्रो पटक ७–११ चैत्र ०५८ मा र तेश्रो पटक २३–२७ भाद्र ०६१ मा भारतको औपचारिक भ्रमण गएको थिए ।
चीनियाँ उपप्रधानमन्त्रीको पूर्वनिर्धारित भ्रमण
चीनियाँ उपप्रधानमन्त्रीको भ्रमण पूर्वनिर्धारित हो । ‘पुनर्निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने गरी तयारी भइरहेको छ,’ भट्टराईले भने । दरबार स्कूल, बसन्तपुर दरबार र नुवाकोट दरबार पुनर्निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भएको छ । चीनियाँ दूताबास र अर्थ मन्त्रालयबीच हस्ताक्षर हुनेछ ।
भारत–चीन तनावमा जवाफ दिने तयारी
भारत र चीनबीच बढ्दो तनावको असर पर्न नदिने नेपालको तयारी छ । तर, चीन र भारतले प्रसङ्ग उठाए नेपालले आफ्नो धारणा दिनेछ । एक परराष्ट्र अधिकारीले भने, ‘नेपाल शान्तिपूर्ण रूपमा भारत र चीनबीच सम्वादका आधारमा समस्या समाधान होस् भन्ने चाहन्छ, यही कुरा भारत र चीन दुबैलाई भन्नेछौं ।’ चीनियाँ उपप्रधानमन्त्रीले दोकलाम विषय र वान वेल्ट वान रोड सम्झौता कार्यान्वयनका विषयमा कुरा उठाउन सक्ने अनुमान नेपालको छ ।
आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया