सार्वजनिक यातायात : जनता ‘सास्ती’ मा सरकार ‘रमिते’

प्रकाशित मिति: २५ श्रावण २०७४, बुधबार १०:१७


– गोविन्द शर्मा
काठमाडौं उपत्यकाभित्रको सार्वजनिक यातायातबारे राजधानीबासी मात्र होइन, मुलुकभरका नागरिक विज्ञसरह छन् । यो विज्ञता नेपाल भ्रमणमा आउने सबैजसो देशका लगभग लाखौं ‘अन्तर्राष्ट्रिय नागरिक’ मा पनि छ । दुःख लाग्दो भनौं वा हाँसो लाग्दो, देश चलाउने सरकारलाई यो पीडा देश र विदेशबासीलाई भन्दा कम थाहा होला । थाहा छ भने पनि सरकारलाई के चाहीँ थाहा छैन भने सार्वजनिक यातायात व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने जिम्मेवारी सरकारकै हो भन्ने ।

दशकौंदेखि नेपालका सयौं मन्त्री विदेश गएको सबैलाई थाहा छ । उनीहरूले विश्वका कुनै न कुनै देशको सार्वजनिक यातायात त देखेभोगेकै छन् । विदेश किन घुम्ने र आफूले लिएर गएको एजेण्डामा सरकारी रकम खर्च गरिसकेपछि मैले त्यो काम मेरा देश र देशबासीका लागि गर्नुपर्छ भन्ने महशुस किन नभएको ? सरकारी कर्मचारी (सचिवसम्म) र मन्त्रीहरूले त्यो रकम र ज्ञानको सदुपयोग गर्नुपर्छ भन्ने जानकारी पाएका हुँदैनन् कि कसो ? होइन भने हरेक कुराको औचित्य पुष्टि गर्नुपर्छ, खै करोडौं खर्चिएर विदेश सयर गर्ने मन्त्री र कर्मचारीबाट देशले के पायो ? यो लेख यतिबेला सार्वजनिक यातायातमा केन्द्रित भइरहँदा यससँग सरोकार राख्ने सबैलाई यो प्रश्नले औँला ठड्याएको छ ।

एक तथ्याङ्कअनुसार, काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका सवारी साधनको संख्या मुलुकभर चल्ने सवारी साधनको ४३ प्रतिशत देखिन्छ । जबकी राजधानी रहेको केही महिना अघिसम्म मुलुकको एक मात्र महानगरसमेत रहेको काठमाडौं शहरमा ७ दशमलव २९ प्रतिशत मात्र जग्गा सडकका लागि छुट्याइएको छ । पश्चिमा मुलुकहरूको एउटा महादेश युरोपमा सडकको अवस्था हेर्ने हो भने हामी सुन्दै अचम्म मान्न सक्छौं, त्यहाँ एक चौथाई भूभाग सडकका लागि छुट्याइएको पाइन्छ । एशियाकै अन्य देशको अवस्था नियाल्ने हो भने थाइल्याण्डमै पनि झण्डै एक सय किलोमिटरको एउटै फ्लाईओभर छ । त्यहाँ हाइवेमा कम्तीमा चार, चार लेनको र त्यसको दायाँ बायाँ दुई, दुई लेन छ ।

विश्व परिवेशसँग नेपालका सडक र सडक सञ्जाल तुलनीय हुनै पर्छ भन्ने छैन । तर, विकासका क्रममा ‘देखासिकी’ भएन भने वा सकारात्मक अनुकरण हुन सकेन भने कुनै पनि देशले ‘विकास’ गर्न सक्दैन । अनेक हिसाबले विश्वभर जोडिएको नेपालका धेरै विषयलाई अन्य देशसँग तुलना गर्नुपर्ने पनि हुन्छ । सार्वजनिक यातायातको दुरुह अवस्थाको सन्दर्भमा एउटा पीडितले भनेका थिए, ‘एयरपोर्टबाट मेरो साथी उडेपछि म गाडी लिएर गोङ्गबुँ लागेको थिएँ, उसले दिल्ली पुगेर फोन गर्‍यो म गोङ्गबुँ पुगेकै थिइनँ ।’ यति मात्र होइन, राजधानीभित्रका सडकको अवस्था, ट्राफिक अस्तव्यस्तता र सवारी चापसँगै सवारी चालकहरूको शैली आदिले उपत्यकाभित्र सवारी चलाउने मात्र होइन, सार्वजनिक यातायात प्रयोगकर्ता र पैदल यात्रुसमेत ‘वाक्क–दिक्क’ छन्, यो नौलो विषय होइन, झण्डै आधा दशकदेखिको तमासामा आमराजधानीबासी ‘कठपुतली’ बनिरहेका छन् ।

‘सूर्यविनायकबाट कलंकी जान हिँडेको मलाई कौशलटार नपुग्दै जामले सास्ती खुवाउन थाल्यो, कलंकी पुग्न ठ्याक्कै तीन घण्टा लागेको थियो’, सार्वजनिक यातायातमै सवार भइरहँदा यो पंक्तिकारले सुनेको यो भनाई पक्कै यहाँ सान्दर्भिक हुनेछ । यसरी हेर्ने हो भने दूर मानिएको दिल्लीको के कुरा एउटा व्यक्ति सूर्यविनायकबाट कलंकी पुगिरहँदा अर्को कोही थाइल्याण्ड पुग्छ । यही उदाहरण काफी छ हाम्रो देशको सार्वजनिक यातायातको यथार्थ । यसको जिम्मेवार को ? प्रत्येक काठमाडौंबासीको दैनिक हजारौँ घण्टा जोगाउन र त्यसको सदुपयोग गर्न सकेको भए नेपाल सरकारले विकासमा कति र कत्रो फड्को माथ्र्यो होला ?

राणाकालमा मान्छेलाई बोकाएर गाडी भित्र्याइएको अवस्थामा लगभग गोरेटो बाटोमा नेपालमा पहिलो पटक सवारी गुडेका हुन् राजधानी काठमाडौंमा । पैदल यात्राको अवधारणामा तत्कालीन समयमा खुलेका सडकहरू तन्काएर अहिले बढीमा छ लेनको बनाइएको छ, चक्रपथ आठ लेनको बनाइदैछ । धन्यवाद दिनैपर्छ, डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा काठमाडौंका थुप्रै सडक चौडा भए, अन्यथा अहिले ‘पिक आवर’ मा सवारी साधनको गति आठ देखि १२ किलोमिटर प्रतिघण्टा पनि सम्भव थिएन । सडक फराकिलो हुन्थेन भने सूर्यविनायकदेखि कलंकी पुग्न तीन होइन कम्तीमा पाँच घण्टा लाग्ने चित्रण सहजै गर्न सकिन्छ । अब अर्को बाबुराम कति दशकपछि जन्मेला ? आमनागरिक यसको प्रतीक्षामा छन् ।

सडकमा अहिले पनि ४० प्रतिशत पैदल यात्रा हुने तथ्याङ्क छ । सार्वजनिक यातायातको दुर्गति यो तथ्याङ्कले पनि छर्लंग पार्छ कि सडक दुर्घटनामा परेर निधन हुनेमध्ये ४३ प्रतिशत पैदल यात्रु छन् । सरकारले यसको क्षतिपूर्ति कति तिरेको तथ्याङ्क सार्वजनिक गर्न सक्छ ? एउटा नागरिकको सार्वजनिक यातायातमा हुने लापर्बाहीमा निधन हुन्छ भने त्यसको जिम्मेवारी सरकारले लिने कि नलिने ? दैनिक लाखौंले सार्वजनिक यातायातको प्रयोग गर्छन् तर, तिनले यो यात्रामा कहीँकतै आफूलाई सम्मानित महशुस गर्छन् वा गर्दैनन् र सुरक्षित कत्तिको गर्छन् ? सार्वजनिक यातायात प्रयोगकर्ताप्रति सहचालकले गर्ने व्यावहार र स–सम्मान सिटमा बसेर यात्रा गर्ने अवसर कहिले पाउने ?


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....