परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै नेता नेपाल उत्तर कोरियातर्फ

काठमाडौं, श्रावण २७ ।
एमाले नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपाल परराष्ट्र मन्त्रालयको आग्रहको बेवास्ता गर्दै आज उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्दै छन् । उनी ‘इन्टरनेशनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउण्ट पिकेटु’को कार्यक्रमको प्रमुख अतिथिका लागि नेता नेपाल सांसदहरू हरिबोल गजुरेल, छाया शर्मा, एकनाथ ढकालसहित प्योङयाङ जान लागेका हुन् । सांसदहरू भने बिहीबार नै त्यसतर्फ लागिसकेका छन् ।
उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको छ । नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए ।
जवाफमा नेपालले नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भएकाले भ्रमण रद्द गर्ने मनस्थितिमा आफू नरहेको बताएका थिए ।
विभिन्न मुलुकका प्रभावशाली नेताहरूको उपस्थिति रहने कार्यक्रममा नेपालले प्योङयाङमा हुने अन्तर्राष्ट्रिय कार्यक्रममा प्रमुख आतिथ्य स्वीकार गरेकोमा पश्चिमा मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयका अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।
त्यसपछि परराष्ट्र मन्त्रालयका अधिकारीले नेपाललाई टेलिफोन गरी भ्रमणको उद्देश्यबारे चासो राखेको स्रोतले जनाएको छ । ‘विदेशी कूटनीतिज्ञले घुमाउरो पारामा नेपालको भ्रमण रोकिदिन आग्रह गरेका थिए’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । नेपाल भदौ ४ गते स्वदेश फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया