बिमस्टेक सचिवस्तरीय बैठकमा स्वतन्त्र व्यापार सम्झौतामा छिट्टै हस्ताक्षर हुने

काठमाडौं, श्रावण २७ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को विदेशमन्त्रीस्तरीय बैठक काठमाडौंमा सुरू भएको छ ।
बिमस्टेकको १५ औं मन्त्रिस्तरीय बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘बिमस्टेक मुलुकका जनतासँग हामी वाचा गरौँ कि क्षेत्रीय सहयोगको ढाँचा र यसका प्रमुख विषयमा समझदारी कायम गर्दै व्यापार, लगानी, सम्पर्क विस्तार जस्ता सबै क्षेत्रमा निर्णयमा पुगौँ र ऊर्जा, प्रविधि स्रोत र जलवायु परिवर्तनसम्बन्धी बाँकी रहेका कार्यलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाऔँ ।’
नेपालको राजनीतिक घटनाक्रमबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन पहिलो प्राथिमकता भएको बताए । संवैधानिक प्रावधानअनुसार स्थानीय चुनाव भइसकेको र बाँकी चुनाव गर्न सरकार दृढ रहेको उनले बताए ।
उद्घाटनसत्र अघि बिमस्टेक देशका उच्च अधिकारीहरूको बैठक बसेका थिए । एजेण्डामा स्वतन्त्र व्यापार सम्झौता, विद्युतीय ग्रिड एकआपसमा जोड्ने र प्रविधि आदान प्रदानलाई मुख्य प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
सचिवस्तरीय बैठकमा स्वतन्त्र व्यापार सम्झौता, विद्युतीय ग्रिड एकआपसमा जोड्नेबारे समझदारीमा छिट्टै हस्ताक्षर गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले बताए ।
लागू औषध नियन्त्रण, मानवतस्करी रोक्ने लगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया