सरकारी संस्थामार्फत गरिब जनताको जीवनस्तर उकास्ने प्रतिवद्धता : मन्त्री बस्नेत

काठमाडौं, श्रावण २८ ।
सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले गरिबीको रेखामुनि रहेकाकोे जीवनस्तर माथि उठाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाली कांग्रेस गोकर्णेश्वर नगर समितिले आज नयाँपाटीमा आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा उनले भने, देशभर दर्ता भएका ३४ हजार सहकारीमार्फत कार्यक्रम सञ्चालन गरी गरिबीका रेखामुनि रहेकाका २१ दशमलव ६ प्रतिशत नागरिकको जीवनस्तर माथि उठाइने छ ।
मन्त्री बस्नेतले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न आर्थिक समुन्नतिका कार्यक्रममार्फत गरिबी निवारण गर्नुपर्नेमा जोड दिदैं सहकारीलाई विश्वसनीय बनाउन शेयरधनी केही पनि होइनन्, सबै सञ्चालक हुन् भन्ने सोचलाई हटाउनुपर्छ भने ।
लोकतान्त्रिक अभ्यास गरी सहकारी चलाउनुपर्छ, सहकारी डुबाउनेलाई रु.एक हजार पाँच सय कारबाही गरेर उन्मुक्ति दिने विद्यमान कानूनी व्यवस्थालाई परिवर्तन गर्न सहकारी ऐन संशोधनको चरणमा छ, उनले भने, बचत र लगानीमा मात्र सहकारी सीमित हुँदा जनताको करोडौँ बचत थन्किएकाले उत्पादनमूलक काम गरी आयआर्जन वृद्धि गर्ने गरी नीति निर्माण गरिने छ ।
मन्त्री बस्नेतले बेरोजगार युवालाई उत्पादनशील काममा लगाई युवा स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउने योजना मन्त्रालयले ल्याउन लागेको जानकारी दिदैं हालसम्म सरकारले ३५ हजार युवालाई प्रतिव्यक्ति रु.दुई लाखका दरले युवा स्वरोजगार कोषबाट रकम उपलब्ध गराएको बताए ।
दश जना युवाले समूह बनाई रु.दुई लाखका दरले रु.२० लाख लिई उत्पादनमूलक काम गरे रोजगारीका लागि खाडी मुलुकको रापमा सेकिनु नपर्ने बताउँदै उनले मुलुकका २५ जिल्लामा गरिब पहिचान गरी परिचय पत्र वितरणको तयारीमा सरकार रहेको जानकारी दिए । मन्त्री बस्नेत बाँकी ५० जिल्लाका गरिब घरपरिवारको पहिचान पनि छिट्टै सुरु गरिने पनि बताए ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकास निर्माणका काम आर्थिक वर्षको अन्तमा सुरु गर्दा विकास बजेट बालुवामा पानी खन्याएजस्तो भएकाले भदौदेखि नै काम गर्न लागिएको जानकारी गराए ।
नगरपालिकामा भदौदेखि नै विकास निर्माणका काम सुरु गरी फागुन मसान्तमै सम्पन्न गर्ने लक्ष्य लिएका छौँ, भदौमै काम सुरु गरी पूँजीगत बजेट फ्रिज हुन नदिने गरी काम गछौं, उनले भने ।
उक्त कार्यक्रममा कांग्रेस गोकर्णेश्वर नगर समितिका सभापति श्रीकृष्ण ज्योति, कांग्रेस नेता लालबहादुर लामा, नगरपालिका वडा नं ८ का अध्यक्ष मनोजकुमार ढुंगाना, नगर समिति सदस्य बालकृष्ण श्रेष्ठलगायतले नगरपालिकाको विकास निर्माणका काम भदौदेखि नै सुरु गरेर आव समाप्त हुने अन्तिम महिना भुक्तानी नदिने गरी नीतिगत व्यवस्था गर्न माग गरेका छन् ।
सो अवसरमा नगर समितिका तर्फबाट मन्त्री बस्नेत र नगरपालिकामा निर्वाचित प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, नगर कार्यपालिका सदस्य, नगर परिषद् सदस्यलाई सम्मान गरिनुका साथै सफल कार्यकालका लागि बधाई ज्ञापन गरिएको थियो ।
प्रतिक्रिया