आफ्ना कार्यकर्तालाई बाढीपीडितको उद्धारमा सहयोग गर्न अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौं, श्रावण २९ ।
नेकपा (माओवादी केन्द्र)ले बाढी प्रभावित जनताको राहत तथा उद्धारमा सम्पूर्ण शक्तिका साथ परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रेस विज्ञप्तिमार्फत प्राकृतिक विपद्को यस अवस्थामा उद्धार र राहतका लागि तत्काल जुट्न पार्टीको सम्पूर्ण पंक्तिलाई आग्रह गरेको हो ।
केही दिनदेखिको अविरल वर्षाका कारण देशव्यापी रूपमा ठूलो जनधनको क्षति भएको र बाढीपहिराका कारण राजमार्ग तथा अन्य सम्पर्क सञ्जालसमेत अवरूद्ध हुन पुगेकाले नागरिकको जीउधनको रक्षा गर्न, उनीहरूलाई सुरक्षित स्थानमा उद्धार गर्न र राहतको प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
पूर्वप्रधानमन्त्री दाहालले सरकारमा सहभागी भएका पार्टीका मन्त्रीलाई पनि नागरिकको उद्धार र राहत वितरणमा सक्रियताका साथ लाग्न र परिचालित हुन आग्रह गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै माओवादी केन्द्रको सहायक संगठन वाइसिएल नेपालले पनि बाढी तथा पहिरोपीडित नागरिकको उद्धार तथा राहत वितरणका लागि खट्न आग्रह गरेको छ ।
वाइसिएलका नेता रामप्रसाद सापकोटाले वाइसिएलका सम्पूण समिति तथा सदस्यलाई पूर्ण इमान्दारीका साथ परिचालित हुन आग्रह गरिएको जानकारी दिए । अनेरास्ववियु (क्रान्तिकारी)ले पनि बाढी तथा पहिरोपीडितको राहत तथा उद्धारमा खट्न नेता तथा कार्यकर्तालाई आग्रह गरिसकिएको अध्यक्ष नरेन्द्र न्यौपानेले जानकारी दिए ।
प्रतिक्रिया