बाढीपीडित जनता जागेको जाग्यै : सरकार सुतेको सुत्यै

– कमला अत्री
‘एउटै घरका बालबालिकासहित चार जनाको मृत्यु’
‘इटहरीमा आठको मृत्यु, छ बेपत्ता सयौँ घर डुबानमा’
‘सिन्धुलीमा अँगालोबाटै खोसिए मुटुका टुक्रा’/‘तीन दिनदेखि निरन्तर वर्षा, सोमबारसम्म वर्षा हुने’
‘विराटनगरमा ३० वर्षकै ठूलो बाढी, तीन जनाको मृत्यु तीन जना बेपत्ता’
‘झापाका अधिकांश स्थान डुबानमा’/‘काखेबालक बोकेर रुखमा चढेर १३ ले ज्यान जोगाए’
‘सप्तकोशीमा पानीको बहाब उच्च/जनकपुरमा पनि डुबान÷हरिनगर जोखिममा÷मालिकार्जुनमा पहिरो’
‘फिदिममा ७० घर विस्थापित÷गौरमा डेढ सयको उद्दार हुन सकेन’ र ‘बाढीले देशभरको जनजीवन संकटग्रस्त’
आइतबार बिहानै एक दैनिक अखबारमा छापिएका शीर्षक हुन् यी । एउटा नागरिकले अर्को नागरिक डुबेको, बेपत्ता भएको र मृत्यु भएकोजस्ता खबर पढ्नु कति सान्दर्भिक हुन्छ होला ? त्यो पनि एकाबिहानै ! कसरी पढ्नु ? र, कसरी सुनाउनु परिवारलाई यस्ता दर्जनौँ अशुभ खबर ! ? कुन पतिलाई लागेको थियो सँगै एउटै खाटमा सुतेका छोराद्वय र प्राणप्यारी पत्नीलाई मध्यरातमै गुमाउनु पर्ला भनेर ? हेर्दाहेर्दै सयौँ घर डुब्दा प्रत्यक्षदर्शी अझ घरधनीको मन मुटु कति छियाछिया भयो होला ? दशकौँ लगाएर जोडेको श्रीसम्पत्ती हेर्दाहेर्दै बगेपछि/पानीमा डुबेपछि अब के खाने, के लाउने र कहाँ सुत्ने ? आँखै अगाडि आफन्त र सन्तान बाढीकै कारण बेपत्ता भएको देख्दा मन कसरी थामिएला ?
बिहीबारदेखि पर्न थालेको पानी शुक्रबारसम्म ठीकै थियो । निरन्तर र मुसलधारे पानी परिरहँदा त्यो पानी कति मात्र बगेर कहाँ जाला ? ढल र बाढी व्यवस्थापनको समस्या भएको हाम्रा शहर र गाउँले निरन्तर वर्षालाई कति धान्छ ? शुक्रबार साँझसम्म खाना खाएर बिछ्यौनामा पल्टिन लागेका खासगरी तराईको पूर्वदेखि पश्चिमसम्मका १५ जिल्लाका हजारौँ नागरिकलाई के थाहा केहीबेरदेखि आफू सुकुम्बासी बन्दैछु भनेर ? के थाहा परिवार र आफन्त गुमाउँदैछु भनेर ? के थाहा दशकौँदेखि खाइ न पाई गरेर जोडेको जायजेथा सर्वश्व गुमाउँदैछु भनेर ?
हो, अचानक मुलुकभर शुक्रबार राति यस्तै भयो । गृह मन्त्रालयकाअनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनसरीमा आठ, मोरङमा छ, सिन्धुली र झापामा चार/चार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन/तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई/दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक/एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा छ, मकवानपुर र पाँचथरमा तीन/तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दियामा एक/एक जना बेपत्ता भएका छन् ।
निरन्तर वर्षाले राजमार्गहरू अवरुद्ध भएका छन् अनि जनजीवन प्रभावित बनेको छ । प्राकृतिक प्रकोप चाहेर वा नचाहेर हुने वा नहुने हुँदैन । यो सबै देशमा जुनसुकै बेलामा पनि हुने कुरो हो । कुनै देशमा भूकम्प, कुनैमा बाढीपहिरो अनि कुनै देशमा सुनामी । जतिबेला सयौँको मृत्यु हजारौँ हताहत भएका खबर सुनिरहेकै हुन्छौँ ।
सरकार जनताका लागि हो, हुनुपर्छ तर, नेपालमा यही नहुनुको पीडा यो वर्षाले बगाएको अवस्थामा समस्या र चुनौति देखिएका छन् । सडक भत्किएर कैयौं बाटोमै अलपत्र छन् भने धनजन गुमाएर कैयौं बेघर भई विस्थापित बनेका छन् । उद्दार र राहतमा पर्खिएका सयौँले २४ घण्टा बित्दा पनि ‘यो देशमा सरकार पनि छ’ भनेर भन्न सकिरहेका छैनन् । खासमा यतिबेला सरकारको पहिलो प्राथमिकता उद्दार र दोश्रो प्राथमिकता राहत हुनुपर्ने हो । पुनर्स्थापना कहिले हो ? त्यो न सरकारले सोचेको होला, न नागरिकले अपेक्षा गर्न सकेका होलान् ।
सरकारी र गैरसरकारी स्तरमा विपद् व्यवस्थापन एवं प्राकृतिक प्रकोपबारे महँगा तारे होटलमा सयौँ गोष्ठी भए तर, अहिले यतिबेला जनता यसरी रोइरहेका छन्, मरिरहेका छन्, खै त्यसरी वर्षौंदेखि लाखौंलाख डलर कहाँ र कसरी सकियो र अहिले त्यसले नेपाल डुबिरहँदा के गर्न सक्यो ? २०५० सालमा यसरी नै बाढी आउँदा डगमगाएको सरकारले यो झन्ण्डै ३० वर्षको अन्तरालमा पुनः बाढीपहिरो आए के गर्छु भनेर पूर्वतयारी गर्यो ? छ सरकारसँग उत्तर ? जापानलाई हेरे पुग्छ, भूकम्प आए कसरी जोगिनेदेखि क्षति भइहाले कहाँ बस्ने, के खाने ? र सुनामी आए कसरी ज्यान बचाउनेसम्मका सबै उपायबारे पूर्वतयारी पर्याप्त छ । नेपाल सरकार न बाढी न आगलागी न भूकम्प न हावाहुरी, केही आए वा भइहाले पनि त्यसपछि मात्र तात्ने हो, बाँकी समय त कुर्सीको मोहमा सत्ता भागबण्डामै दैनिक आठ होइन १८ घण्टाभन्दा बढी खर्चिन सक्छन् सरकारमा जाने दलहरू ।
आज, यतिबेला जनताको जे बिजोग भइरहेको छ त्यो सरकारको लापर्बाहीका कारण भएको हो । पूर्वतयारी नहुँदा भूकम्पले ठूलो जनधनको क्षति हुन्छ भन्ने थाहा हुँदाहुँदै आठ हजार बढीले ज्यान गुमाउनु परेको थियो, अरबौंको क्षति भएरै छाड्यो । हजारौं टुहुरा भए, हजारौं विधवा बने । अहिले पनि यही काण्ड दोहोरिएको छ, केवल सरकारी ढिलासुस्ती र उदासीनताका कारण । हजारौं मानिस खुला आकाशमुनि र चिसो जमिनमाथी भोको ज्यानमा उद्दार र राहतको झिनो अपेक्षामा अहिले सरकार गुहारिरहेका छन् । मात्रै डुबान हुने ठाउँमा एउटा काठको डुंगासम्म नराखिदिएर सरकारले नागरिकलाई सौतेलो व्यावहार गरेको परिणाम आज विश्वले मूल्याङ्कन गरिरहेको छ । बाढीपीडित जनता रातभर जागेको जाग्यै छन् तर… तर, सरकार कानमा तेल हालेर सुतेको सुत्यै छ… । धन्य जनताको सरकार ! ?
प्रतिक्रिया