चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण, पुनर्निर्माणमा चीनसँग सहयोग सम्झौता

काठमाडौं, श्रावण ३० ।
चिनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमणको क्रममा पुनर्निर्माणमा चीनको सहयोग सम्बन्धी केही सम्झौता हुने भएका छन् भने केरुङ–काठमाडौं रेलमार्गबारे निर्णायक छलफल गर्ने तयारी नेपाल सरकारले गरेको छ ।
पाँच वर्षपछि चीनबाट उच्च भ्रमणका लागि २१ सदस्यीय चिनियाँ टोलीको नेतृत्वमा चार दिने औपचारिक भ्रमण गरिने छ । उपप्रधानमन्त्री वाङ पाकिस्तानबाट विशेष विमान लिएर आज साँझ काठमाडौं आउँदै छन् । भ्रमणको क्रममा वाङले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च नेताहरूसँग भेटवार्ता गर्दैछन्, जसमा नेपालको पुनर्निर्माणमा चीनको सहयोग तथा केरुङ–काठमाडौं रेलमार्गबारे प्रमुख रूपमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहाकार डा. दीनेश भट्टराईले चिनियाँ उपप्रधानमन्त्रीले हनुमानढोकास्थित नौतले दरबारको जीर्णोद्वार गर्ने र त्यसमा चिनियाँ सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताएका छन् ।
वाङको भ्रमणको क्रममा पुनर्निर्माणमा चीनको सहयोग सम्बन्धि अन्य तीनवटा सम्झौतामा पनि हस्ताक्षर गर्ने तयारी गरिएको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईका अनुसार ती विषय मन्त्रालयहरूमा छलफलकै क्रममा रहेको र परराष्ट्र मन्त्रालय आइपुगेपछि मात्रै सार्वजनिक गरिने छ ।
चीन सरकारमा अर्थ मामिला प्रमुख रहेका वाङसँग यसअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा अर्थमन्त्री कृषणबहादुर महराले रेलमार्गको संभाव्यताबारे छलफल गरेका थिए ।
बेइजिङमा भएका ती भेटवार्तामा नेपालले औपचारिक रूपमा प्रस्ताव ल्याए चीन केरुङ–काठमाडौं–लुम्बिनी रेलमार्ग निर्माणमा आर्थिक सहयोग दिन तयार रहेको बताएका थिए ।
चौलागाईका अनुसार वाङको भ्रमणको क्रममा खासगरी केरुङ–काठमाडौं रेलमार्गबारे एउटा टुङ्गोमा पुग्नेगरी छलफल हुनेछ । ‘चिनियाँ उपप्रधानमन्त्री वाङको भ्रमणमा केरुङ–रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गबारे छलफल गरी एउटा टुङ्गोमा पुग्ने तयारी छ’, चौलागाईले भने, ‘यही भ्रमणमा सम्झौता नभए पनि सबैकुरा टुंग्याएर चाँडै सम्झौता गर्ने तयारी भइरहेको छ।’
अरनिको राजमार्ग विस्तार, भक्तपुर–सूर्यबिनायक सडकखण्डलाई चार लेनको बनाउने विषय पनि वाङसँगको भेटवार्तामा टुंगो लगाइने चौलागाईले बताए ।
प्रतिक्रिया