हरेक वर्ष यहीँ अवस्था : अहिलेसम्म ९१ को मृत्यु, ३८ जनाको अत्तोपत्तो छैन

प्रकाशित मिति: ३१ श्रावण २०७४, मंगलवार ०८:५७


काठमाडौं, श्रावण ३१ ।
हरेक वर्ष देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण कोहीँ न कोहीँ पीडित हुने क्रम निरन्तर रूपमा भइरहेको छ । तर, वर्षौं वर्ष बितिसक्दासमेत समयमै यसतर्फ ध्यान सम्बन्धित निकायले पुर्‍याउन नसक्नु निकै दुःखदायी कुरा हो । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु बेश भन्ने कुराको ज्ञान छ तर, व्यावहारमा किन उतार सकेन सम्बन्धित निकायले ? यो कुनै २०७२ साल बैशाख १२ गते आएको विनाशकारी महाभूकम्प जस्तै अचानक आइपर्ने दुर्घटना होइन, वर्षौं वर्षदेखि निरन्तर रूपमा भारी वर्षासँगै बाढी पहिरोले सयौंको ज्यान जाने गरेको छ तर, पनि समयमा यसको समाधान गर्नेतर्फ कोहीँ अगाडि किन सर्दैन ?

पछिल्लो तथ्याङ्कअनुसार बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म ९१ जना पुगेको छ । ३८ जनाको कुनै अत्तोपत्तो छैन भने २५ जना घाइते भएका छन् । बेपत्ता भएकाको खोजी कार्यलाई तीब्रता दिइएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताएका छन् ।

शुक्रबार रातिदेखि तीन दिनसम्म आएको बाढीपहिरोबाट दुई हजार आठ सय ४७ वटा घर पूर्ण रूपमा नष्ट भएका छन् । तीन हजार सात सय ४७ विभिन्न पूर्वाधार संरचनामा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।

पीडितहरूको उद्दारका लागि २६ हजार सात सय व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खटिएका छन् । बेपत्ताहरूको खोजी, उद्दार र राहत वितरणका लागि सेनाका सात र छ निजी हेलिकोप्टरसहित मोटरबोट र रबर्टबोट प्रयोग गरिएको गृह मन्त्रालयका प्रवक्ता सुवेदीले बताए ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मासहितको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्रीको टोलीले बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापा क्षेत्रका बाढीपीडितहरूसँग भेटेका छन् । राहत वितरणमा कुनै कसर बाँकी नराख्न टोलीले स्थानीय प्रशासनलाई निर्देशन दिने कामसमेत भएको छ ।

त्यसैगरी, सरकारले तराईका १२ जिल्लाका बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ । झापा, सुनसरी, सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा राहत वितरण गरिएको हो । अरू राहत सामग्री आवश्यकताअनुसार वितरण गरिने प्रवक्ता सुवेदीले बताए ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....