नेपाल–चीनबीच सहयोग सम्झौतामा हस्ताक्षर हुँदै

काठमाडौं, श्रावण ३१ ।
नेपालको पुनर्निर्माणमा चीनको आर्थिक सहयोगमा आज सम्झौता हुँदैछ । चिनियाँ उपप्रधानमन्त्री वाङ याङको भ्रमणको क्रममा सोल्टी होटलमा द्विपक्षीय वार्तापछि सम्झौता गर्ने तयारी छ ।
पाकिस्तानबाट भारतको आकाश हुँदै सोमबार साँझ काठमाडौं आइपुगेका चिनियाँ उपप्रधानमन्त्री वाङ अहिले बसन्तपुर दरबार क्षेत्रमा भूकम्पले ध्वस्त भएको काष्ठमण्डपको पुनर्निर्माण शिलान्यास समारोहमा सहभागी हुँदैछन् ।
११ः३० बजेदेखि १२ः३० बजेसम्म चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालका समकक्षी विजय कुमार गच्छदारसँग होटल सोल्टीमै भेटवार्ता गर्ने कार्यक्रम छ । लगत्तै उपप्रधानमन्त्री वाङ तथा उपप्रधानमन्त्रीद्वय गच्छदार र कृष्णबहादुर महराको उपस्थितिमा नेपाल र चीनबीच सम्झौतामा हस्ताक्षर हुनेछ ।
परराष्ट्र मन्त्रालय सम्वद्ध स्रोतहरूका अनुसार पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ युआन अनुदान सहयोग सम्झौता हुने बताइएको छ । आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा छुट्टै सम्झौता हुनेछ भने पेट्रोलियम पदार्थ, ग्याँस र खानी अन्वेषणका लागि चीनको सहयोग समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ भने नेपालमा चिनियाँ लगानी भित्र्याउने विषयमा छुट्टै समझदारीपत्रमा समेत नेपाल र चीनले हस्ताक्षर गर्नेछन् ।
सम्झौतापछि वाङको सम्मानमा समकक्षी गच्छदारले दिउँसो १ बजे सोल्टीमा दिवाभोजको आयोजना गर्नेछन् ।
मंगलबार दिउँसो ३ बजेबाट पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वाङबीच होटल सोल्टीमा ४० मिनेट भेटवार्ता हुनेछ । त्यसलगत्तै ४ बजेबाट अर्का पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ४० मिनेट भेटवार्ता तय गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग वाङले बुधबार भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रतिक्रिया