प्रधानमन्त्री देउवा र चिनियाँ उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं, श्रावण ३२ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरेको छ ।
त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका साथै पारस्परिक सहयोग विस्तारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिएको हो ।
नेपाल र चीनबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा व्यापार, पर्यटन, भौतिक पूर्वाधार निर्माण, सीमापार सम्पर्क विस्तार तथा दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउने बारेमा चिनियाँ उपप्रधामन्त्रीसँग छलफल भएको उनले बताएको छ ।
‘चिनियाँ राष्ट्रपतिले अघि सार्नुभएको ‘एक क्षेत्र, एक मार्ग’ (ओबिओआर)मा सहभागी हुने सम्बन्धी समझदारीमा नेपालले हस्ताक्षर गरिसकेको वर्तमान सन्दर्भमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा उनीहरूबीच कुराकानी भयो’– सल्लाहकार भट्टराईले भने ।
उनकाअनुसार पर्यटन प्रवद्र्धन तथा सहयोग विस्तारका साथै परम्परागत जडीबुटीजन्य औषधि उत्पादन तथा विकासबारे पनि छलफल भएको थियो ।
नेपाल र चीनबीच उपप्रधामन्त्रीस्तरीय वार्तापछि हिजो भएका तीन वटा सम्झौताले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत मिलेको बताउँदै दुवै नेताले सन्तुष्टि व्यक्त गरेको उनले जानकारी दिए ।
सौहार्दपूर्ण वातावरणमा भएको उक्त भेटमा प्रधानमन्त्री देउवालाई उपप्रधानमन्त्री वाङले चीन भ्रमणका निम्ति आमन्त्रण गरेको र प्रधानमन्त्री देउवाले राष्ट्रपति सी जिनपिङ्गलाई नेपाल भ्रमणका लागि पुनः अनुरोध गरेको सल्लाहकार भट्टराईले बताए ।
‘चीनका राष्ट्रपति नेपालको भ्रमण गर्न इच्छुक रहेको उनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको छ, अनुकूल समयमा राष्ट्रपति सीले नेपालको भ्रमण गर्नेछ’– उपप्रधानमन्त्री वाङको भनाइ उद्धृत गर्दै उनले भने ।
भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङसहित आठ उच्च चिनियाँ अधिकारी उपस्थित रहेको थियो । त्यसैगरी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागीता रहेको थियो ।
प्रतिक्रिया