कांग्रेस, एमाले र माओवादीबीच केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति

काठमाडौं, भाद्र १ ।
प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको तीन दलको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जानकारी दिएका छन् ।
उनले प्राविधिक र कानुनी विषयमा आयोगसँग बिहीबार थप छलफल गर्ने सहमति भएको जानकारी दिए ।
एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आगामी मंसिर १५ गतेभित्र दुवै तहको निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन् ।
त्यस्तै, तीन दलबीच आगामी भदौ ४ गतेभित्र संविधान संशोधनको विषयलाई टुंगोमा पुर्याउने सहमति समेत भएको छ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न पनि तीन दल सहमत भएको उपनेता नेम्वाङले जानकारी दिए ।
प्रतिक्रिया