निर्वाचन आयोगद्वारा मंसिरको दुई मितिमा निर्वाचन गर्न सुझाव

काठमाडौं, भाद्र २ ।
एकै पटकमा संघीय संसद् र प्रदेश सभाको निर्वाचन गर्न सहमत शीर्ष तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको तीन दलका शीर्ष नेता र आयोगका पदाधिकारीसहितको बैठकमा मतपत्र छाप्न नभ्याउने कारणले हिउँ पर्ने जिल्लामा आगामी मंसिर ४ र अन्य जिल्लामा मंसिर २१ गते दुबै तहको निर्वाचन हुने गरी मिति तोक्न प्रस्ताव गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा भएको सो छलफलमा आयोगले उक्त मितिमा निर्वाचन गर्ने भए एक दुई दिनमा मन्त्रिपरिषद्बाट मिति तोक्न, यही भाद्र ५ गतेभित्र प्रतिनिधि सभा र प्रदेश सभासम्बन्धी विधेयक संसद्बाट पारित गर्न र भाद्र १५ गतेभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन उपलब्ध गराउन माग गरेको छ ।
निर्वाचनसम्बन्धी ती दुई विधेयक संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भएकाले त्यसलाई सहमतिमा छिटो पारितका लागि प्रमुख दलका प्रमुख सचेतक र समितिमा रहेका सदस्यसमेत रहेको राजनीतिक संयन्त्र बनाउने सहमति भएको छलफलमा सहभागी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
उनले निर्वाचनसम्बन्धी कानून बनाउन लाग्नुपर्ने समयमा संविधान संशोधनको प्रस्तावमा नअल्मन आफूहरूले आग्रह गरेको बताउँदै सरकारले सोसम्बन्धी कानूनको विधेयक ल्याउन ढिला गरेकाले हाल चटारो परेको धारणा राखे । राष्ट्रिय जनता पार्टी नेपाललाई चित्त बुझाउन संविधान संशोधन विधेयकमा यही भाद्र ४ गते मतदान हुने कार्यतालिका रहेको छ ।
नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले आयोगले उक्त मिति प्रस्ताव गरे पनि आज थप छलफल गरेर सरकारले टुङ्गो लगाउने प्रतिक्रिया दिएका छन् । उनले भने, “हाम्रो जोड एकै मितिमा गर्ने भन्ने हो, यसमा आयोगसँग थप परामर्श गरेर निर्णय गरिनेछ ।” सरकारले आयोगको परामर्शमा निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया