ताम्रकार समाजको सह–आयोजनामा सर्वाधिक राशी पुरस्कारसहित बुद्धिचाल प्रतियोगिता

ललितपुर, चैत्र १५ ।
६० औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजना तथा ताम्रकार समाज ललितपुरको सह–आयोजनामा शिवानी एयर पाँचौँ कामना सहकारी कप बुद्धिचाल प्रतियोगिता यही चैत्र २० गतेदेखि २६ गतेसम्म आयोजना गरिने भएको छ ।
ललितपुरमा आज एक पत्रकार सम्मेलनको आयोजना गरी “आर्थिक विकास र सामाजिक रूपान्तरणका लागि सहकारी” भन्ने मूल नाराका सो उक्त प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक राजु ताम्रकारले जानकारी दिएका छन् ।
बौद्धिक खेल बुद्धिचाल तथा बौद्धिक वित्तीय वृत सहकारीबीच समिश्रण गर्दै आम जनसमुदायमा सहकारीतासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, सहकारीताको थप महत्व झल्काउने, सहकारीकर्मीहरूलाई ऐक्यबद्ध हुन प्रेरित गर्ने र यस क्षेत्रको सुदृढीकरणमा सहयोग पुर्याउन सहकारीको सातौँ सिद्धान्तले प्रतिपादित ‘समुदायप्रति चासो’मा आधारित भएर बुद्धिचाल खेलमार्फत अघि बढ्न चौथो पटकको प्रयास रहेकोसमेत सम्मेलनमार्फत जानकारी गराइयो ।
नेपालकै सर्वाधिक पुरस्कार राशी रु. ४,९८,४००/– सहित कूल खर्च रु. १४,५८,०००/– रहने सो प्रतियोगितामा प्रथम हुनेलाई रु. १,८२,९००/– को यामाहा सालुटो मोटर साइकल, द्वितीय हुनेलाई रु. ५०,०००/–, तृतीयलाई रु. ३०,०००/– र चौथो हुनेलाई रु. २५,०००/– नगद राशी पुरस्कार सुपर नक आउटका आधारमा प्रदान गरिनेछ ।
त्यसैगरी, सुपर लिगका बिजेताले रु. २५,०००/– द्वितीय, तृतीय, चौथो र पाँचौँले क्रमशः रु. १५,०००/–, रु. १०,०००/–, रु. ८,०००/–, रु. ७,०००/– नगद राशी प्राप्त गर्नेछ भने त्यस्तै छैठौँदेखि दशौँसम्म रु. ६,०००/– यसैगरी, एघारौँदेखि १५ औँसम्म पर्नेहरूलाई रु. ५,५००/– र १६ औँदेखि २० औँसम्म पर्नेलाई रु. ५,०००/– प्राप्त गर्नेछ ।
यसैबीच, महिला खेलाडीहरूलाई पनि प्रथमदेखि पाँचौँसम्मलाई क्रमशः रु. १०,०००/–, रु. ८,०००/–, रु. ७,०००/–, रु. ६,०००/–, रु. ५,०००/– प्राप्त गर्नेछन् । त्यसैगरी, यू–१९ ले रु. ५,०००/–, रेटिङ्गले रु. ५,०००/–, वेष्ट लोकल रु. ५,०००/–, भेट्रान रु. ५,०००/–, अनरेटेड प्रथमलाई रु. ७,०००/–, द्वितीयलले रु. ५,०००/– सहित जम्मा ३६ जनाले पुरस्कार स्वरूप नगद राशी प्राप्त गर्नसक्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिता नेपाल बुद्धिचाल संघको सहयोगमा जावलाखेलस्थित ताम्रकार समाजको भवनमा हुनेछ भने लिग कम नक आउट स्वीस लिगको आधारमा ११ राउण्डसम्म खेलाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको थियो ।
प्रतियोगिताबारे ताम्रकार समाजका अध्यक्ष रबिन्द्रराज ताम्रकार, शिवानी एयरलाइन्सका मणिन्द्र रञ्जितकारलगायतले जानकारी गराएका थिए ।
प्रतिक्रिया