मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ ।
मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा छिटफुट वर्षा हुने अनुमान गरेका छन् ।
बंगालको खाडीबाट नेपालतर्फ आएको जलवाष्पयुक्त हावासँगै पश्चिमी वायु तथा स्थानीय वायुकोसमेत आंशिक प्रभावको कारण आगामी तीन-चार दिनसम्म नेपालको मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकी मौसमविद् शान्ति कँडेलले मंगलबारबाट काठमाडौंको वायु प्रदूषण पनि कम हुने सम्भावना रहेको बताएकी छन् ।
‘अहिले जुन स्तरको प्रदूषण काठमाडौंमा छ, भोलिबाट त्यो हट्ने सम्भावना छ,’ कँडेलले भनिन्, ‘अहिले नै काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने त देखिँदैन । तर, छिटफुट वर्षा र हावा चल्ने सम्भावना छ, त्यसले पनि काठमाडौंको प्रदूषण कम गर्न मद्दत गर्छ ।’
उनले मंगलबारदेखि आगामी शुक्रबारसम्म नै कोशी, वागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशको मौसम बदली हुने बताइन्
‘काठमाडौं उपत्यकासहित केही स्थानमा छोटो सयमको लागि मेघगर्जन र चट्यासहित छिटफुट वर्षा र हावाहुरीको सम्भावना पनि छ । त्यसले पनि प्रदूषण केही कम हुने अनुमान हामीले गरेका छौँ,’ उनले भनिन् ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार राति ८ बजे जारी गरेको बुलेटिनमा पनि आगामी २४ घण्टासम्म देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख छ ।
‘कोशी प्रदेशसँगै वागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थान तथा देशका बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ बुलेटिनमा भनिएको छ, ‘कोशी, वागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातकोसमेत सम्भावना छ ।’
महाशाखाले वायु प्रदुषणसँगै आकाशमा बाक्लो बादल लागेको कारण सोमबार दिनभरी नै उपत्यकाको आकाश धुम्म देखिएको जनाएको छ ।
आज सोमबारदेखि भारतमा न्यून चापीय प्रणालीको विकास भएको र त्यसको प्रभावसमेत नेपालमा पर्न सक्ने अनुमान महाशाखाले गरेको छ ।
प्रतिक्रिया