राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री डा. राणालाई थप १५ दिन हिरासतमा राख्ने अनुमति

काठमाडाैं, चैत २६ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । आज मंगलबार अदालतले १५ दिन म्याद थप गरेको हो ।
उनीहरूमाथि गत चैत १५ गते शुक्रबार तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनलाई हिंसात्मक बनाउन संलग्न भएको तथा उक्साएको आरोप रहेकाे छ । उक्त आरोपमा पक्राउ गरिएका मिश्र र राणासहित २० जनामाथि अनुसन्धानका लागि १५ दिनको म्याद थप भएको हो ।
अन्य बाँकीलाई २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।
अदालतले दुई नेतासहित ४१ जनालाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेकामध्ये आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलो पटक अघिल्लो आइतबार पाँच दिनको म्याद थप गरिएको थियो ।
गत साता बुधबार दोश्राे पटक ६ दिन म्याद थपिएको थियो । यसपटक भने समय बढाइएको छ ।
राजावादीको आन्दोलन र लुटपाटमा संलग्न गरी ६६ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया