नेवार समुदायमा धूमधामसँग सिथि नखः पर्व मनाइँदै, घर–घरमा बारा पकाइँदै

प्रकाशित मिति: १५ जेष्ठ २०७७, बिहीबार ०६:२८


काठमाडाैं, जेठ १५ ।
नेवार समुदायले प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाउने सिथि नखः पर्व आज हर्षोल्लासका साथ मनाउँदै छन् । लिच्छविकालदेखि सुरु भएको जनविश्वास रहेको सिथि नखःका दिन नित्य पूजा गर्नुपर्ने देवी–देवता तथा आफ्ना दिवंगत पूर्वजलाई मास, मुगीबाट बनेका विशेष प्रकारको वः (बारा), चामलको पीठोबाट बनाइएको चतांमरी, गहुँको म्हुचामरीलगायत परिकार चढाउने तथा परिवारका सबै सदस्य एक ठाउँमा बसेर खाने गर्छन् । हिन्दू धर्म मान्ने नेवारले यस दिनलाई कुमारको जन्म भएको तथा बौद्ध धर्म मान्ने नेवारले क्षेत्रपालका रूपमा मान्ने प्रचलन पनि रहेकाे छ ।

बौद्धमार्गीले यस दिनलाई बुद्ध महासत्व भई जन्म लिएका बेला आजकालको नमरा (नमोबुद्ध) भन्ने स्थानमा बच्चा जन्माई अशक्त भएको बाघलाई बुद्धले आफ्नो शरीरको मासु काटेर बाघलाई खुवाएको र बुद्धले निर्वाण प्राप्त गरेको दिनका रूपमा पनि लिन्छन् । यसैले यो दिन महासत्व राजकुमारको गीत गाइने प्रचलन छ । ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने षष्ठी नखः अपभ्रंश भई सिथि नखः भएको हो ।

किंवदन्तीअनुसार एक पटक महादेव र पार्वतीबीच प्रणय भइरहेका बेला स्वर्गलोकमा दानवको आक्रमण भएपछि सबै देवता महादेवकहाँ गएछन् । त्यहीबेला महादेवमा कामाग्नि उत्पन्न भयो । त्यो कामाग्नि पार्वतीमा खस्नुपर्नेमा इन्द्रलाई पर्यो । इन्द्रले कामाग्निसहित गंगामा गएका बेला त्यहाँ स्नान गरिरहेका स्वर्गका परीलाई सो कामाग्नि खसेछ । ती परीबाट कुमारको जन्म भयो । ती कुमारलाई महादेवले छोरा भनी पार्वतीलाई हस्तान्तरण गरे ।

सिथि नखः अर्थात कुमार षष्ठीलाई रावण षष्ठी पनि भनिन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा रामचन्द्रले रावणबाट हरण भएकी पत्नी सीतालाई फर्काएको दिनका रूपमा पनि यस दिनलाई सम्झिइन्छ । सिथि नखःका दिन घर–आँगनमा गोबरले लिपेर पाँच पलेस्वां लेखी श्रीकुमार (सिथिद्यः) भनी आराधना गरी पञ्चोपचार तथा माय् (मास) वा मू (मुग) वा चतांमरी (चामलको रोटी) दुसिमरी (कोदाको रोटी) कःनि (मकै)का बारा राखी पूजा गरेमा घरमा बिघ्नबाधा आउँदैन भन्ने जनधारणा समेत रहेकाे छ ।

संस्कृतिविद् डा. चुन्दा बज्राचार्यले आजको दिन पानीको मुहान, इनार र कुवाका साथै आफू बस्ने घर, टोल वरपर सरसफाई गरी मनाइने बताउँदै भनिन्, “विश्व सरसफाई दिवस मनाउने चलन अहिले आएको छ तर, नेवार समुदायले सयौँ वर्षदेखि धार्मिक हिसाबले आफू वरपर सरसफाई गर्दै आएको छ ।

उनकाअनुसार किसानसँग पनि सम्बन्धित यस पर्वमा खाइने बारा खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षायाममा धान खेती गर्न बल मिल्ने जनविश्वास छ । संस्कृतिविद् डा. बज्राचार्यले यदि देगु (देवाली) पूजा नभएको वा देगु पूजाका दिन देगु पूजा गर्न नपाएमा वा देगु पूजाको तिथि थाहा भएन भने यस दिन देगु पूजा गर्ने चलन रहेको बताइन् ।

उनले भनिन्, “नेवार समाजमा काम सफल होस् भनेर मूल ढोकाको अगाडि कुमारलाई पूजा गर्ने चलन छ, मूलढोका अगाडि कुमारको बासस्थान मानिन्छ । डा. बज्राचार्यले सिथि नखःका दिन काठमाडौंको जैसीदेवलमा सिथिद्यः (कुमार देवता) प्रदर्शन गर्ने तथा भक्तजनले समेत चिउरा राखी पूजा गर्ने चलन रहेको बताइन् । त्यसको भोलिपल्ट सिथिद्यःलाई रथमा राखेर काठमाडौंमा शहर परिक्रमा गरी जात्रा मनाइन्छ ।


प्रतिक्रिया


ताजा खबर

More