काेराेना भाइरसका कारण मातातीर्थ मेला स्थगित

काठमाडाैं, बैशाख ९ ।
प्रत्येक वर्ष बैशाख कृष्ण औँसीका दिन चन्द्रागिरी नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरूप तर्पण, पिण्डदान, श्राद्ध गर्न लाग्ने मेला नहुने यसपटक भने नहुने भएको छ ।
विश्वव्यापी महामारीकाे रूपमा फैलिएकाे कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण मेला स्थगन गरिएको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिएका छन् ।
मातृ सम्मान दिवसका रूपमा मनाइने यस पर्वका अवसरमा आमा हुनेले घरमै मीठा चिजबिज खान एवं नयाँ कपडा लगाउन दिएर मनाउँछन् । सम्मान भाव प्रकट गरी मनाउँछन् ।
आमा नहुनेहरू भने राजधानीको पश्चिमी भेगमा रहेको मातातीर्थमा गई श्राद्ध, तर्पण, सिदादान गरी यो पर्व मनाउने प्राचीन परम्परा रहेकाे छ ।
बैशाख कृष्ण औँसीका दिन यहाँ लाखौँ भक्तजनको भीड लाग्ने गर्छ । मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पूण्य प्राप्त हुने धार्मिक विश्वास रहीँ आएकाे छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वाससमेत भक्तजनमा छ ।
स्थानीयबासीलाई समेत मन्दिरमा गएर भीडभाड नगर्न भनिएको नगर प्रमुख गिरीले बताए । अवज्ञा गरी हिँड्नेलाई स्थलगत रूपमा रु. १०० जरिवाना गरिने नगरपालिकाले जनाएको छ ।
बन्दाबन्दीमा निस्कनेबाट नगरपालिकाले हालसम्म जरिवाना स्वरूप रु ७० हजार सङ्कलन गरिसकेको छ ।
मातातीर्थ संरक्षण समितिको नेतृत्वमा मन्दिरमा नित्यरूपमा हुने पूजाआजा भने जारी रहने उनले बताए । यस वर्ष बैशाख ११ गते बिहीबार आमाको मुख हेर्ने औँसी परेको छ ।
प्रतिक्रिया