आज हरिशयनी एकादशी, घर–घरमा तुलसीकाे पूजा आराधना गरी मनाइँदै

काठमाडौं, असार १७ ।
आज आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी । भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व ब्रत, पूजापाठ गरी मनाईंदैछ । जेष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका दिन घर–घरमा राखिएको तुलसीको दलबाट आजै विरुवा रोपेर चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ । कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीका दिनसम्म भगवान विष्णु शयन गर्नुहुने भएकाले त्यस दिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।
चतुर्माससमेत भनिने यो चार महिनामा तुलसीको पूजापाठ गरे मनोकामना पूरा हुने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले बताएका छन् ।
उनले भने, ‘यो चार महिनासम्म ब्रत बस्नेले निश्चित विधि पालना गर्नुपर्छ, जसअनुसार साउनमा साग, भाद्रमा दही, असोजमा दूध र कार्तिकमा दुई दल भएर उम्रने चीजबीज खान नहुने कुरा ‘निर्णय सिन्धु’ ‘हेमाद्रि’ र ‘वीर मित्रोदय’लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।’
असारदेखि कार्तिकसम्म ‘चतुर्मास माहात्म्य’ पाठ गर्ने र कथा वाचन एवं श्रवण गर्ने परम्परा रहेको छ । जेष्ठ शुक्ल एकादशीका दिन बीच रोपी आजका दिन सारिएको तुलसीलाई छोरीका रूपमा घरमा हुर्काई बढाई हरिबोधिनी एकादशीका दिन दामोदर अर्थात भगवान विष्णुसँग विवाह गर्ने गरिएको भनाई पनि रहेको छ । वैज्ञानिक रूपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वेदिक औषधिका रूपमासमेत उपयोग गरिन्छ । वैदिककालदेखि नै पिपल, कुश, तुलसी र शालिग्रामलाई भगवान विष्णुको प्रतिकस्वरूप पवित्र मानिन्छ ।
वर्षमा २४ एकादशी पर्दछन् । तीमध्ये आषाढ शुक्ल र कार्तिक शुक्ल एकादशीलाई ठूलो एकादशीका रूपमा लिइन्छ । अरू २२ एकादशीका दिन ब्रत बस्न नसक्नेले पनि यी दुई एकादशीमा ब्रत बस्ने गर्छन् ।
प्रतिक्रिया