राताे मच्छिन्द्रनाथकाे रथाराेहण स्थगित

प्रकाशित मिति: २३ असार २०७७, मंगलवार १७:१६


ललितपुर, असार २३ ।
काठमाडाैं उपत्यकाकाे लामाे जात्राकाे रूपमा परिचित वर्षा र सहकालका देवता राताे मच्छिन्द्रनाथकाे भोलि बुधबार हुने भनिएको रथारोहण रोकिएको छ । कोरोना भाइरस संक्रमण दिनानुदिन उपत्यकामा बढ्दै गएकाले गुठी संस्थान ललितपुरले भोलिका लागि निर्धारण गरिएको रथारोहण स्थगित गर्न निर्देशन दिएको हो ।

जिल्ला प्रशासन कार्यालयको निर्णयानुसार रथारोहण स्थगित गर्न निर्देशन दिइएको गुठी संस्थान ललितपुरले जानकारी दिएको छ । कोरोनाका कारण रोकिएको रथ निर्माणसँगै ज्योतिषले असार २४ गते रातो मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्ने साइत निकालेपछि सोहीअनुसार तयारी गरिएको थियो ।

तर, गुठीको पत्र आएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । अब कोरोना संक्रमण कम भएपछि प्रशासनको परामर्शमा मात्रै रथारोहणको नयाँ साइत निकालिने बताइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि नै रथारोहणको साइत निकाल्दा परामर्श नगरिएको भन्दै असन्तुष्टि जनाएको थियो ।

कोरोना भाइरसका कारण स्थगित भएको ललितपुरको रातो मच्छिन्द्रनाथको रथ जात्रा लकडाउन खुकुलो भएसँगै पुल्चोकमा ३२ हात अग्लो रथ निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

चैत्र २७ गते महास्नान गरेर बैशाख १२ गते पुल्चोकमा रथारोहण गर्नुपर्ने भए पनि लकडाउनका कारण रथ निर्माण हुन नसकेपछि रोकिएको छ । अहिले मच्छिन्द्रनाथको मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजन पाटीमा राखिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More