बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाद्वारा राजीनामा, प्रदर्शनकारी प्रम निवासमा प्रवेश

एजेन्सी, श्रावण २१ ।
बंगलादेशमा विद्यार्थीहरू आन्दोलन चर्केर थप उग्र रूप लिन थालेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर राजधानी ढाका छोडेकी छन् । समाचार संस्था अलजजिराकाअनुसार उनी राजीनामा दिएर सुरक्षित स्थानमा लागेकी हुन् ।
प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशका विद्यार्थीहरू अहिले प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन् ।
प्रदर्शनका क्रममा हजारौँ नागरिकहरू प्रधानमन्त्रीको निवासतर्फ गएपछि उनी ‘सुरक्षित स्थान’तर्फ सरेका हुन् । यसअघि हसिनाले भिडियो सन्देश जारी गर्न खोजेका थिए । तर, त्याे सम्भव भने हुन सकेन ।
बंगलादेशी सेनाका प्रमुख जनरल वाकर जमानले सबै राजनीतिक दलका नेताहरूसँग अहिलेको अवस्थाबारे छलफल गर्दैछन् । त्यसपछि सेना प्रमुखले अपराह्न राष्ट्रलाई सम्बोधन गर्ने तयारीसमेत गरेकाे छ ।
आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले गरेको आन्दोलन हिंस्रक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा पनि ३ सय पुगिसकेको छ । अदालतले आरक्षण र कोटा प्रणालीलाई खारेज गरे पनि प्रधानमन्त्रीको राजीनामा माग्दै प्रदर्शन जारी नै रहेकाे थियो ।
प्रतिक्रिया