भक्तपुरमा बाल्टिनमा डुबेर ११ महिने बालिकाकाे मृत्यु, पहिराेमा पुरेर चारकाे मृत्यु

काठमाडाैं, श्रावण २२ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका-१० चित्तापोलमा बाल्टिनमा भएको पानीमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ घर भएर भक्तपुर बस्दै आएकी गीता बस्नेतकी छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो । सोमबार साँझ बाल्टिनमा रहेको पानीमा डुबेर उनी घाइते भएकी थिइन् । उपचारको क्रममा ख्वप अस्पताल च्यामासिंहमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच, गुल्मीको मुसिकोट नगरपालिका-१ मा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज मंगलबार बिहान पहिरोमा पुरिँदा चार जनाको ज्यान गएको हो । स्थानीय सञ्चारकर्मी माधव खरेलकाअनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो ।
घाइते भएका दुई जनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको खरेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया