एयर डाइनेस्टीकाे हेलिकाेप्टर नुवाकाेटकाे सूर्यचाैरमा दुर्घटना, पाँच जनाकाे मृत्यु

प्रकाशित मिति: २३ श्रावण २०८१, बुधबार १५:३५


काठमाडाैं, श्रावण २३ ।
काठमाडाैंबाट रसुवाकाे स्याफ्रुबेसीकाे लागि उडेकाे एयर डाइनेस्टीको हेलिकोप्टर आज बुधबार नुवाकाेटकाे शिवपुरी गाउँपालिका वडा नं.-१ स्थित गुर्जेमा दुर्घटनामा परेकाे छ । उक्त हेलिकाेप्टरमा चार जना चीनियाँ पर्यटक सवार रहेको पुष्टि भएको छ । उनीहरू काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थिए ।

दुर्घटनामा क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा क्याप्टेन अरुण मल्ल र चार चीनियाँ पर्यटकको मृत्यु भएको हो । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले हेलिकोप्टरमा सवार पाँच जनाकै मृत्यु भएको पुष्टि गरे ।

चीनियाँ पर्यटकको नाम खुल्न सकेको छैन । बुधबार चार जना पर्यटक लिएर हेलिकोप्टर काठमाडौंबाट रसुवाको स्याप्रुबेसी जाँदै थियो । स्याप्रुबेसीमा चीनियाँ पर्यटकलाई छाडेर त्यहाँ रहेका अन्य पर्यटकलाई काठमाडौं ल्याउन हेलिकोप्टर त्यसतर्फ गएको थियो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीकाअनुसार  घटनालगत्तै सेनाको हेलिकाेप्टर घटनास्थलमा पुगेको छ भने प्रहरी र सेनाका साथै स्थानीय समेत उद्धारमा खटिएका छन् ।

नेपाली आकाशमा हेलिकाेप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ । नागरिक उड्ययन प्राधिकरणकाअनुसार २७ डिसेम्बर १९७९ मा लेटाङमा भीभीआईपी हेलिकाेप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेकाे डीएसपी भारतीले जनाएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनमा भएको मूल्य अभिवृद्धि कर पुनरालोकन गर्न सरकारसँग माग

काठमाडाैं, असार २ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत्.....