माेटरसाइकल चाेरीमा संलग्न तीन जना ट्राफिक प्रहरीकाे नियन्त्रणमा

प्रकाशित मिति: २५ श्रावण २०८१, शुक्रबार १८:२७


काठमाडाैं, श्रावण २५ ।
ललितपुरको बालकुमारी र भक्तपुरको कौशलटारबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको कमल गाउँपालिका-३ घर भई हाल काठमाडौंको सितापाईला बस्ने ३० वर्षीय युवराज राई, सोही ठाउँ बस्ने २१ वर्षीय नविन भट्टराईलाई ललितपुरको बालकुमारीबाट र मकवानपुरको वागमती गाउँपालिका-३ घर भएका २१ वर्षीय प्रेमबहादुर पाख्रिनलाई भक्तपुरको कौशलटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

शंकास्पद अवस्थामा फेला परेको प्रदेश २-०२-०२७ प ४३ २३ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलसहित भट्टराई र राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धान गर्दा वास्तविक नम्बर वागमती प्रदेश ०२-०४९ प २५ १३ रहेको मोटरसाइकल पाख्रिनबाट लिएको खुल्न आएको छ ।

उक्त मोटरसाइकल काठमाडौंको माछापोखरीबाट यही श्रावण २३ गते हराएको भनि खोजतलासको लागि श्यामलाल लोप्चन तामाङले निवेदन दिएका थिए ।

अनुसन्धान तथा खोजतलासको क्रममा पाख्रिनलाई भक्तपुरको कौशलटारबाट वागमती प्रदेश ०२-०४९ प ०२ ०९ नम्बरको केटीएम ड्युक मोटरसाकल र लक तोड्न प्रयोग हुने औजारसहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उक्त मोटरसाइकल यही श्रावण २२ गते भक्तपुरको लोकन्थलीबाट हराएको भनी कैलाश लोक्ताम लिम्बुले खोजतलासको लागि निवेदन दिएका थिए ।

नियन्त्रणमा आएका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बालाजु पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले जानकारी दिएका छन् ।

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोधसमेत गरेका छन् ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरणसहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने ट्राफिक प्रहरीले जनाएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

पेट्रोलियम पदार्थमा पुनः मूल्यवृद्धि, ग्याँसको मूल्य यथावत

काठमाडाैं, असार १ । नेपाल आयल निगमले भोलि साेमबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....