वागमतीसहित आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली

काठमाडाैं, श्रावण २७ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले दिएकाे जानकारीअनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
हाल वागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै, राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी र वागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया