३ कराेड ८७ लाख मूल्य पर्ने काेकिनसहित नयाँ बानेश्वरबाट दुई जना पक्राउ

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलवार १९:२४


काठमाडाैं, श्रावण २९ ।
काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ । तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छन् ।

प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरोको कोटेश्वरको टोलीले सुरुमा तान्जानियन नागरिकलाई होटलबाट पक्राउ गरेको थियो ।

उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटलबाट पक्राउ परेकी थिइन् ।

ब्यूरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यकाअनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो ।

बरामद भएको कोकिनको अवैध बजार मूल्य ३ करोड ८७ लाख हुन आउँछ ।

तान्जानियन नागरिकले कोकिन निलेर आएका थिए । होटलबाट आएर दिसाबाट ‘अनलोड’ गरी भारतीय महिलालाई बुझाउने तयारी गरिरहेका थिए ।

एसएसपी आचार्यकाअनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै नेपाल आएका थिए । दुबईबाट कतार एयरको जहाजमा आइतबार मात्रै आएर उनी होटलमा बसेका थिए ।

आइतबार नै भारतीय महिला बागडोग्रा एयरपोर्टमा उत्रिएर बस चढेर काठमाडौं आइपुगेकी थिइन् । उनी स्थलमार्गबाटै कोकिन लिएर भारत जान लागेकी थिइन् ।

दुबैमाथि लागू औषध नियन्त्रण ऐनअनुसार जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ । ती महिला भरियाले कसलाई लागू औषध बुझाउन लागेकी थिइन् भन्ने खुलेको छैन ।

गत श्रावण २३ गते मात्रै लाटभिएन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स ६ किलो २४ ग्राम कोकिनसहित पक्राउ परेका थिए । उक्त कोकिनको अवैध बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ हुन आउँछ ।

लाट्भियाबाट फ्रान्स हुँदै दुबई ट्रान्जिट भएर ती नागरिक काठमाडौं आइपुगेका थिए ।

दक्षिण अमेरिकी मुलुकबाट भरियाहरू कोकिन बोकेर आउने गरेकोमा प्रहरीले पहिलो पटक युरोपियन नागरिकलाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र हाेटेल हिमालय सेरेन भ्युबीच विशेष छुटसम्बन्धी सम्झाैता

काठमाडाैं, असार १ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गकाे इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....

काठमाडौंको बुढानीलकण्ठमा दुई जनाको शव फेला

काठमाडाैं, असार १ । काठमाडौंको.....

केदारनाथबाट उडेको हेलिकोप्टर दुर्घटना हुँदा ७ को मृत्यु

एजेन्सी, असार १ । भारतको केदारनाथबाट.....