सबैकाे सर्वसहमतिमा नै संविधान संशाेधन हुन्छ : नेता डा. काेइराला
काठमाडाैं, श्रावण ३२ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसहमतिमा नै संविधान संशोधन गर्नुपर्नेमा जाेड दिएका छन् ।
आज शुक्रबार मोरङको बुढीगंगा गाँउपालिका वडा नंं.-७ डंग्राहामा आयोजित स्वास्थ्य शिविर कार्यक्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेस-एमालेको करिब दुई तिहाइ बहुमत रहे तापनि सबैको सहमतिमा नै संविधान संशोधन गर्नुपर्ने बताएका हुन् ।
संविधान संशोधनका लागि जनमत संग्रह जस्तो जटिल प्रक्रियामा जानुको सट्टा संसदीय विशेष समिति वा आयोग बनाएर गर्न सकिने उनले बताए । कोइरालाले दुई दल मात्रै मिलेर संविधान संशोधन गर्न खोजे अवस्था थप जटिल बन्दै जाने धारणा व्यक्त गरेका छन् ।
उनले भ्रष्टाचार छानबिनमा हदम्याद तोक्न नहुने र अख्तियारलाई बढी शक्तिशाली बनाउने नाममा निजी क्षेत्रको क्षेत्राधिकार दिन नहुने दाबीसमेत गरेका छन् ।
नोना कोइराला स्मृति प्रतिष्ठान र केएचडिसी नेपालले प्राविधिक सहयोगमा बुढीगंगा गाँउपालिकाले मृगौला, मुटु तथा मधुमेहसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । नेता कोइरालाले बिरामी जाँच गर्दै निःशुल्क स्वास्थ्य शिविरको शुभारम्भसमेत गरेका थिए ।
प्रतिक्रिया