उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढ्दै, प्लास्टिक जन्य फोहर नजलाउन आग्रह

काठमाडौं, मंसिर १० ।
काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्टिक जन्य फोहर नजलाउन आग्रह गरेको छ ।
हिउँद याम लागेपछि क्रमशः वायु प्रदूषण बढ्दै गएको पाइएपछि विभागले त्यस्तो प्रदूषण नियन्त्रणका लागि आग्रह गरेको हो । विगत केही हप्तादेखि नेपालको तराई क्षेत्रलगायत काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको पाइएको हो ।
विभागकाअनुसार, वायु प्रदूषणको मुख्य कारणको रूपमा उद्योग कलकारखाना र सवारी साधनबाट निकाष्सन हुने धुँवा, वन डढेलो, खुला रूपमा फोहर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुँवा, सडक तथा निर्माणस्थलबाट उड्ने धुलो आदि हुन् ।
वायु गुणस्तर सूचकाङ्क शून्यदेखि ५० हुँदा राम्रो, ५१ देखि एक सयसम्म मध्यम, एक सय एकदेखि एक सय ५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । एक सय ५१ देखि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सयसम्म निकै अस्वस्थ तथा तीन सय एकभन्दा माथि भएमा खतरनाक तह पुगेको सङ्केत गरिन्छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वास-प्रश्वास र मुटुका बिरामी, गर्भवती महिलालाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।
विभागले ठोस तथा प्लास्टिक जन्य फोहर तथा कृषिजन्य अवशेष नजलाउन, सवारी-साधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्छामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण स्थलहरूबाट उड्ने धुँवा धुलोको यथोचित नियन्त्रण गर्न अनुरोध गरेको छ । विभागले देशभरका स्टेशनहरूमार्फत् वायु प्रदूषण मापन गर्दै आएको छ ।
प्रतिक्रिया