पैसा लिएर चुनावमा गएको आरोपप्रति प्रमाण पेश गर्न अध्यक्ष यादवको चुनौती

काठमाडौं, असार ५ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पैसा लिएर चुनावमा गएको भन्दै आफूविरुद्ध राजपा नेताले लगाएको आरोपको खण्डन गर्दै प्रमाण पेश गर्न कडा चुनौती दिएका छन् ।
अध्यक्ष यादवले सरकारबाट प्रयाप्त पैसा लिएर चुनावमा गएको र त्यसको प्रमाण आफूसँग रहेको भन्दै आवश्यक परे देखाउन तयार रहेको बताउँदै राजपा नेपालका नेता मनिषकुमार सुमनले दावी गरेपछि यादवले चुनौती दिएका हुन् ।
राजपाको राजनीति दिशाहीन र औचित्यहीन भइसकेकोले दिग्भ्रमित राजपा नेताहरूले सन्तुलन गुमाएर यस्तो घटिया अभिव्यक्ति दिन थालेको यादवले प्रतिटिप्पणी गरे ।
राजपा आफै बाहिरबाट परिचालित पार्टी भएको टिप्पणी गर्दै अध्यक्ष यादवले मनिष सुमन आफँैले कसैको पैसा खाएर यस्तो घटिया आरोप लगाएको हुन सक्ने जिकिर गरेका छन् । उनले भने, ‘अरूमाथि यसरी आरोप लगाउने राजपा जस्तो पार्टीको आयश्रोत के हो ? कहाँबाट संचालित छ ? कसरी चलेको छ ? यसको जवाफ राजपासँग छ ?’
राजपा नेताहरुसँग राजनीतिक एजेन्डा नै नभएकाले अरूको चरित्र हत्या गर्ने, निराधार भ्रम सिर्जना गर्ने र बदनियतपूर्ण आरोप लगाउने जस्ता घटिया कार्यमा उत्रेको यादवको भनाई छ ।
अध्यक्ष यादवले राजपा नेताहरूलाई सन्तुलन नगुमाई संयमित रहन, निष्ठा एवं एजेन्डामुखि राजनीति गर्न आग्रह गरे ।
प्रतिक्रिया