विराटनगर महानगरपमलिकामा चार दलबीच रोचक प्रतिस्पर्धा

प्रकाशित मिति: ६ असार २०७४, मंगलवार १६:४९


विराटनगर, असार ६ ।
राजनीतिक दलहरूबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थिति देखापरेको छ ।

नेकपा (एमाले) तथा लोकतान्त्रिक फोरम नेपालबीच र सङ्घीय समाजवादी फोरम नेपाल तथा नेकपा (माओवादी केन्द्र) बीच प्रमुख र उप–प्रमुख पदका लागि गठबन्धन भएका कारण निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो ।

सो गठबन्धनका कारणले महानगरपालिकामा प्रमुख पदका लागि चारवटा दलका बीच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । विराटनगर महानगरपालिकामा प्रमुखको पदमा नेपाली कांग्रेसका भीम पराजुली, एमालेका विनोद ढकाल, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादव र राप्रपाका प्रह्लाद साहबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको सर्वसाधारण मतदाताले अड्कल गरेका छन् । अन्य राजनीतिक दलका साथै स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा जित्ने दाबीका साथ उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले लोकतान्त्रिक फोरम नेपालका उप–प्रमुख पदका उम्मेदवार सूची चौधरीलाई सघाउने र लोकतान्त्रिक फोरमले प्रमुख पदमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । माओवादी केन्द्रले सङ्घीय समाजवादी फोरमका उम्मेदवार उमेश यादवलाई र उसले माओवादी केन्द्रका उम्मेदवार नमिता न्योपानेलाई सघाउने सहमति भएको छ ।

यी चार दलबीच प्रमुख र उप–प्रमुख पदका लागि भएको तालमेलका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तालमेल गरेका दलहरुले प्रमुख र उप–प्रमुख पदमा जित सुनिश्चत भएको दाबी गरिरहेका छन् ।

कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी प्रमुख, उप–प्रमुखलगायत महानगरका १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । अन्य दलले पनि सोहीअनुरूप वडाहरूमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस मोरङले पार्टीको अवस्था मजबुत रहेका कारण कुनै पनि दलसँग गठबन्धन नगरेको कांगे्रस नेताहरू बताउँछन् ।

विराटनगरमा एक लाख १४ हजार मतदाता रहेका छन् । विराटनगरमा स्थानीय तहको निर्वाचनमा पार्टीगत आधारभन्दा स्थानीय समस्या, उम्मेदवारको आचरणले महत्वपूर्ण भूमिका खेल्ने निश्चित छ । यस अतिरिक्त जातीय, क्षेत्रीय र भाषिकलगायतका विषयले पनि महत्वपूर्ण प्रभाव पार्ने सम्भावनालाई नकार्न सकिँदैन ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....