अध्यक्ष दाहाल अस्वस्थ, चुनावी सम्बोधनमा परिवर्तन

विराटनगर, असार १० ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल अस्वस्थ भएपछि विराटनगरमा आज आयोजना हुन गइरहेको चुनाव सभामा सम्बोधनको तालिका केही फेरबदल गरिएको छ ।
दोश्रो चरणको स्थानीय चुनावका लागि अध्यक्ष दाहाल गत सातादेखि चुनावी सभा, सम्मेलनमा सहभागिता जनाउँदै आएका थिए । आज विराटनगरमा अध्यक्ष दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवद्वारा संयुक्त चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
‘पार्टी अध्यक्ष अस्वस्थ भएको खबर छ,’ नेकपा माओवादी केन्द्रका मोरङ इञ्चार्ज कुशल लिम्बुले भने, ‘उहाँ विराटनगर नआउने पक्का भयो ।’
दाहाल विराटनगर नआउने भएपछि यहाँको चुनावी सभालाई सम्बोधन गर्न अर्का नेता रामबहादुर थापा (बादल)ले सहभागिता जनाउने भएका छन् । बादलसँगै फोरमकातर्फबाट उपेन्द्र यादव आउने छन् । साथै, फोरमसँग मिलेर चुनावमा एकै चिन्हबाट चुनाव लडिरहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालकातर्फबाट डा. भट्टराईसमेत विराटनगर आउने भएका छन् ।
विराटनगरको हाटखोलामा आज दिउँसो २ बजे हुने चुनावी सभालाई माओवादीका बादल, फोरमका यादव र नयाँ शक्तिका डा. भट्टराईले संयुक्त रूपमा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको माओवादीका एक नेताले जानकारी दिएका छन् ।
विराटनगरमा आजै नेकपा एमाले र तालमेलमा रहेको दल फोरम लोकतान्त्रिकले संयुक्त रूपमा चुनावी सभा आयोजना गर्दैछन् । उक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र फोरम अध्यक्ष विजयकुमार गच्छादारले पनि सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । एमाले–फोरमको चुनावी सभा यहाँको गुद्री बजारमा हुने बताइएको छ ।
प्रतिक्रिया