दोश्रो चरणको चुनावमा पनि एमाले सबैभन्दा धेरै स्थानमा जित्ने अध्यक्ष ओली

मोरङ, असार १० ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी असार १४ गते हुने स्थानीय तहको दोश्रो चरणको निर्वाचनमा एमालेले पहिलो चरणको चुनावमा भन्दा धेरै स्थानमा विजय हासिल गर्ने बताएका छन् ।
नेकपा (एमाले) मोरङको उर्लाबारी नगर कमिटीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले पहिलो चरणको भन्दा दोश्रो चरणको निर्वाचनमा एमाले अझ बढी स्थानमा विजयी हुने दाबी गरे ।
एमालेले राष्ट्रिय स्वाभिमानका लागि राष्ट्रिय झन्डा प्रयोग गरेको भन्दै ओलीले भने ‘राष्ट्रिय झन्डा च्यातिदा चुप लागेर बस्ने अनि एमालेले उठाउँदा आपत्ति जनाउने ।’ यो निर्वाचनमा एमालेले जित्नेमा कुनै शङ्का नरहेको भन्दै उनले भने ‘उर्लाबारीको समग्र विकासका लागि गुरू योजना बनाएर एमाले अघि बढ्छ ।
हिजोका दिनमा मावा र बक्राहा खोला उर्लाबारीको पीडाको विषय बनेको थियो अब ती पीडाका विषय नरहने र त्यसलाई नियन्त्रण गरेर लाभ लिन सकिने छ ।’
आफूले देश बनाउने कुरा गर्दा विपक्षी दलले अनेकथरी आरोप लगाएको भन्दै ओलीले भने ‘हामी विकास निर्माणको कुरा गर्छौ, उनीहरू त्यसलाई उखान टुक्का बुझ्छन् । देश बनाउने सङ्कल्प बोकेर हिँडेकै कारण आफ्नो पार्टी कसैसँग पनि झुक्दैन् ।’
सभामा एमाले केन्द्रीय सदस्य डा.शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, एमाले सल्लाहकार सदस्य घनश्याम खतिवडाले पनि आफ्नो धारणा राखेका थिए ।
सभामा उर्लाबारीको नगर प्रमुख पदका उम्मेदवार भुपालसिंह जिमी र उप–प्रमुख पदकी उम्मेदवार लक्ष्मी भण्डारीले आफ्ना प्रतिबद्धता राखेका थिए ।
प्रतिक्रिया