विद्यालयदेखि नै व्यावहारिक शिक्षालाई अगाडि बढाउनु पर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, असार १० ।
उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले स्थानीय तहको निर्वाचनसँगै सामुदायिक विद्यालयको शिक्षा राम्रो हुने बताएका छन् ।
नेपाली कांग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री श्रेष्ठलाई बधाई तथा सम्मान दिन आज बसुन्धारामा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहलाई दिइएको अधिकारसँगै सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुने विचार व्यक्त गरेका छन् ।
उनकाअनुसार व्यावहारिक शिक्षातर्फ मुलुकलाई अगाडि बढाउने सोच मन्त्रालयले गरिरहेको छ । उनले निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयले राम्रो अङ्क ल्याउन नसकेको भन्दै राम्रो अङ्क ल्याउन नसक्ने विद्यार्थीलाई जीवन उपयोगी शिक्षा दिनुपर्ने बताए ।
उनले भने दैनिक रोजगारीका लागि हजारौँ विद्यार्थी बाहिरिएका छन् उनीहरूलाई पनि जीवन उपयोगी शिक्षा दिन सकियो भने धेरै आम्दानी गर्न सकिन्छ ।
उपप्रधानमन्त्री श्रेष्ठले जनताको इच्छा, आकाङ्क्षा र चाहनाअनुसार मुलुकलाई अगाडि बढाउने भन्दै स्याङ्जा जिल्ला र शिक्षा मन्त्रालयको शिर नझुक्ने गरी काम गर्ने बताए ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं सांसद कमलप्रसाद पङ्गेनीले तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयन गर्नुपर्ने बताए ।
उक्त सम्पर्क समितिका अध्यक्ष देवीप्रसाद अर्याल, पूर्व राज्यमन्त्री इन्द्रबहादुर गुरूङ, नेविसङ्घ स्याङ्जा–काठमाडौं सम्पर्क समितिका सभापति दीपक न्यौपाने, पूर्व सचिव श्रीकान्त रेग्मीलगायतले तीन तहको निर्वाचनसँगै देशको विकासका लागि कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया