राजपाको आरोप ‘जबर्जस्ती निर्वाचन गराउन खोज्नु अर्को षड्यन्त्र’

राजविराज, असार ११ ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आफूहरू स्थानीय तहको निर्वाचनको विरोधी नरहेको बताउँदै वर्तमान सरकारले त्यस निर्वाचनमा आफ्नो पार्टीलाई समावेश गर्ने वातावरण नबनाएका सरकारले सहभागी गराउन नचाहेको प्रष्ट भएको आरोपसमेत लगाएका छन् ।
सप्तरीको मलेठमा शनिबार राजपा सप्तरीद्वारा आयोजना गरिएको पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै नेता महतोले सरकारले चुनावमा आउन मौखिक रूपमा मात्रै भन्यो तर चुनावको बाटोमा ठूलो ताला लगाएर राखेकाले आफूहरू निर्वाचनमा सहभागी नभएको स्पष्ट गरे ।
उनले आफूहरू चुनाव विरोधी नरहेको बताउँदै लोकतन्त्रको मुख्य हतियार चुनावलाई आफूहरूले प्रयोग गर्न खोजे पनि प्रयोग गर्न नदिएको समेत आरोप लगाए ।
पटक–पटक सम्झौता गरे पनि मुख्य दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले संविधानमा अधिकारै नदिई अधिकारविहीन संविधानमा मोहर लगाउने षड्यन्त्र गरेर आफूहरूलाई ढोका बन्द गरिदिएको उनको भनाई थियो ।
अर्का नेता शरतसिंह भण्डारीले सङ्घीयतालाई खारेज गराउन मुख्य दलहरू लागिपरेको आरोप लगाउँदै सरकारले सीमाङ्कनमा बेइमानी गर्ने चाल चालेको आरोपसमेत उनले लगाएका छन् ।
त्यस्तै, नेता महेन्द्रराय यादवले संविधान संशोधन, आन्दोलनमा मारिएकालाई शहीद घोषणा, उनीहरूका परिवारलाई क्षतिपूर्ति र जनसंख्याका आधारमा स्थानीय तह वृद्धि गर्न आफूहरूले बारम्बार माग गर्दै आए पनि सरकारले कुनै ध्यान नदिएको आरोप लगाउँदै जबर्जस्ती निर्वाचन गराउन खोज्नु अर्काे षड्यन्त्र भएको बताए ।
प्रतिक्रिया