दोश्रो चरणको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने

काठमाडौं, असार ११ ।
असार १४ गते बुधबार हुने दोश्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका लागि आइतबार राति १२ बजेपछि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । उक्त निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निधारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरूको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न नपाइने भन्ने उल्लेख छ ।
निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने पनि आयोगले जनाएको छ । कुनै पनि प्रचार–प्रसारका क्रियाकलाप नगर्न र गराएको पाइएमा तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न, गराउन निर्वाचन आयोग आग्रहसमेत गरेको छ ।
‘यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिता विपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरूमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने व्यहोरासमेत सम्बद्ध सबैलाई जानकारी गराइन्छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तह निर्वाचन, निर्देशिकाको दफा ७० मा प्रचार–प्रसार गर्न वा शान्ति भङ्ग गर्न निषेध गरिएको छ । सोही दफाको (१) मा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन निषेध गरिएको छ ।
प्रतिक्रिया