भोटो जात्रा सकिएपछि मत्स्येन्द्रनाथको बिचाः पूजा मंगलबार

ललितपुर, असार १२ ।
मत्स्येन्द्रनाथको अन्तिम पर्वका रूपमा रहेको बिचाः पूजा मंगलबार हुने भएको छ । भोटो जात्रा सकिएर देउता बुङ्गमती फर्किएपछि हुने पर्वमध्येको बिचाः पूजा एक हो । उक्त पूजा पानेजुले गर्छन् ।
बिचाः पूजा पुल्चोकमा हुनेछ । काठ काट्ने, रथ बनाउने, तान्ने, पूजा गर्नेलगायत कार्यमा सहभागी सबैलाई भोज खुवाइने गरेको गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले बताएका छन् ।
उनले भने, ‘कामदार सबैलाई एकै ठाउँमा राखेर भोज खुवाएपछि जात्रा पूरै सकिएको मानिन्छ ।’
मत्स्येन्द्रनाथको पर्व र जात्रामा ३१ जना पानेजु सहभागी हुन्छन् । पानेजुबाहेक, बाराही, ञँवाल लगायतको सहभागिता हुन्छ । यी सबै जात्रा सम्पन्न भएको खुसियालीमा बिचाः पूजामा सहभागी हुन्छन् ।
रातो मत्स्येन्द्रनाथको जात्रालाई उपत्यकाकै सबैभन्दा लामो जात्रा मानिन्छ । देवतालाई ६ महिना पाटन र ६ महिना बुङ्गमतीमा राखिन्छ । पाटन रहँदासम्म झन्डै ६ महिनासम्म जात्रा चल्छ । मत्स्येन्द्रनाथलाई सहकालको देवता मानिन्छ । यस वर्ष गत जेठ ११ गते भोटो जात्रा थियो ।
प्रतिक्रिया