अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ ।
अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन् । भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन् । प्रहरी स्रोतकाअनुसार, उनलाई काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ ।
उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईंको परिवारले पनि पुष्टि गरेको छ । तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफैँ आसाम प्रहरीको सम्पर्कमा पुगेको बताए ।
प्रसाईंसँगै भागेका उनका सहयोगीहरू भने आफैँ नेपाल फर्कँदै छन् । प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो । उनी फरार भएपछि पनि दुई वटा भिडियो सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।
प्रसाईं भागेलगत्तै नेपाल प्रहरीको विशेष ब्यूरोको टोली पछ्याउँदै पुगेको थियो । विशेष सूचनाका आधारमा ब्यूरोको टोली भारतमा उनी रहेको स्थानको नजिक पुगिसकेको थियो । प्रहरी पुगेको सुइँको पाएपछि त्यहाँबाट पनि भागेर उनी सामाजिक सञ्जालसमेत नचलाएर गुपचुप बसेका थिए ।
तर, हिजो बुधबार मात्र उनले सामाजिक सञ्जालमा अर्को भिडियो राखेर आफू भागेको नभई असुरक्षित रहेका कारण जोगिएको बताएका थिए ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रूप लिएपछि दुई जनाको ज्यान गएको थियो । व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।
प्रतिक्रिया