बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एकको मृत्यु

काठमाडाैं, चैत २८ ।
म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम-मच्छिम-मुना सडकअन्तर्गत उत्तिसिनेमा आज बिहीबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
सडक छेउमा रोकिराखेको ग. १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडिको भागले च्यापिएर धवलागिरी-३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको जनाउँदै जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको बताए । उनकाअनुसार सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरीरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मतसम्बन्धी काम गर्दै आएका थिए ।
प्रतिक्रिया